राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो, प्रदेश र स्थानीय तहका लागि बेग्लाबेग्लै केन्द्र

राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो, प्रदेश र स्थानीय तहका लागि बेग्लाबेग्लै केन्द्र

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । 

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुईवटा केन्द्र रहने गरी सात मतदान स्थल र १४ केन्द्र तोकेको हो । 

आयोगका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरलाई मतदान स्थल तोकिएको छ । त्यस्तै, महेन्द्र निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाममा मधेशको मतदान हुनेछ । 

बागमती प्रदेशका लागि मकवानपुरको हेटौँडास्थित श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक ‘एफ’ प्राविधिक भवन र गण्डकीका लागि प्रदेश निर्वाचन कार्यालय पोखरालाई मतदानस्थल तोकिएको छ । 

त्यसैगरी, दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवनमा लुम्बिनी प्रदेशको मतदान हुनेछ भने कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदान स्थल कायम गरिएको छ । 

प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगर प्रमुख, उपप्रमुखका लागि बेग्लाबेग्लै मतदान केन्द्रहरु रहने आयोगले जनाएको छ ।

टिप्पणीहरू