दुबई र कुवेतमा रहेका फरार प्रतिवादीहरुलाई काठमाडौं ल्याइयो

दुबई र कुवेतमा रहेका फरार प्रतिवादीहरुलाई काठमाडौं ल्याइयो

दुबई र कुवेतमा बस्दै आएका चार जना फरार प्रतिवादीहरुलाई इन्टरपोलको सहयोगमा काठमाडौं ल्याइएको छ । हिजो दिउँसो साढे २ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५३९ मा दुबईबाट काठमाडौं आएका दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिएको बताइन्छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोपाल बुढाथोकी भन्ने यामबहादुर बुढाथोकी र विद्युतीय कारोबार कसुर मुद्दाका फरार प्रतिवादी सगीर अहमदलाई विमानस्थलको आगमन कक्षमा रहेको अध्यागमनबाट पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक कारवाहीको निम्ति नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (ईन्टरपोल शाखा) नक्साल पुर्याइएको छ । उनीहरुविरुद्ध यसअघि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।

अस्ति राति २ बजे कुवेतबाट आएका जबरजस्ती करणीमा संलग्न उमेश लामालाई पनि प्रहरीले पक्रेको छ । राहदानी नम्बर १२५४९७२८ वाहक लामा कुवेत एअरवेजको उडान नम्बर केयु ३९३ मा कुवेतबाट काठमाडौं आइपुगेका थिए ।

उनलाई पनि रेड कर्नर नोटिसपछि कुवेतमा पक्राउ गरेर काठमाडौं पठाइएको थियो । लामालाई प्रहरीको अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा) नक्सालमा काठमाडौं लगिएको छ ।

हिमालयन एअरलाइन्सको उडानमा दुबईबाट काठमाडौं आएका कोमलराज उपाध्याय प्याकुरेललाई पनि प्रहरीले विमानस्थलबाटै पक्रेको छ । अध्यागमनको लिष्टमा कालोसूचीमा रहेका प्याकुरेल एचआर कन्सल्टेन्सी ट्रेनिङ सेन्टरका कार्यकारी निर्देशक हुन् । उनले दुबई पठाएका ३० जना कामदारले बिचल्लीमा पारेको उजुरी गरेका थिए ।

त्यसपछि २२ महिना दुबईको जेलमा बिताएर नेपाल आएका राहदानी नम्बर ०८०३८९०४ का प्याकुरेललाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो । उनलाई पनि नक्सालस्थित प्रहरी हिरासतमा राखिएको छ । प्रहरीको प्रारम्भिक बयानमा निजले श्रीमती रञ्जना उपाध्यायसमेत केन्द्रिय कारागार सुन्धारामा रहेको बताएका छन् ।

टिप्पणीहरू