काठमाडौँका ६ ठाउँमा निषेधाज्ञा निरन्तर

काठमाडौँका ६ ठाउँमा निषेधाज्ञा निरन्तर
सुन्नुहोस्

एमाले नेता महेश बस्नेत र राजावादी अभियन्ता दुर्गा प्रसाईंको शक्ति प्रदर्शनका क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै अघिल्लो महिना काठमाडौँका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा निरन्तर रहने भएको छ । 

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर ४ गते जारी भएको एक महिना लामो निषेधाज्ञा दुई महिना थप गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सुरक्षा समितिको सिफारिसअनुसार अब सिडिओ बस्नेतले जुनसुकै समय आदेश जारी गर्नेछन् । 

बैठकले आगामी दिनमा समेत विभिन्न समूहले गर्ने राजधानी केन्द्रित विरोधका कार्यक्रमहरुबाट शान्ति सुरक्षामा खलल पर्नसक्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको हो । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम आजदेखि लागू हुनेगरी दुई महिनासम्मका लागि अति विशिष्ट व्यक्तिको निवास, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्य कार्यालय, अन्य संवेदनशील सरकारी कार्यालय र सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग भएको स्थानलाई निषेधित क्षेत्र घोषणा गरिने जनाइएको छ ।

यसअघि सिडिओ कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, उपराष्ट्रपति कार्यालय वरपर र माइतीघरदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा कुनैपनि प्रकारको आन्दोलनका कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको थियो ।  ति स्थानहरुमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता आन्दोलनका कार्यक्रम गर्न रोक लगाइएको थियो ।

टिप्पणीहरू