एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे - प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे - प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद बिक्री प्रकरणमा आफूविरुद्ध दुस्प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । 

आज दिउँसो पार्टी मुख्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उहाँले एनसेलमा प्रचण्डले भ्रष्टाचार गर्यो भनेर सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तथ्यहीन प्रचार गरेको बताउनुभएको हो ।  

‘अर्बौं अर्बको पहिला पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ, एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमूनाको रूपमा त्यसलाई लिएँ । मैले बाहिर केही प्रतिवाद गरिनँ', उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले यस्ता झूठा प्रचारको प्रतिवाद गर्दै जनतालाई सही सूचना दिने कामको नेतृत्व गर्न प्रेस सेन्टरका नेताहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झूठो प्रचार गरिरहेको हुनाले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गर्दछु ।'

सरकारले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको प्रधानमन्त्रीको दावा छ । सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको उहाँले बताउनुभयो ।

त्यसक्रममा उहाँले प्रेस क्षेत्र अहिलेको राजनीतिको अग्रणी मोर्चा भएकाले सोहीअनुरुप क्रियाशील हुन प्रेस सेन्टरलाई निर्देशनसमेत दिनुभएको छ ।

टिप्पणीहरू