काँग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष मिस्त्रीसहितको टोली खटाउँदै

काँग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष मिस्त्रीसहितको टोली खटाउँदै

नेपाली काँग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा निर्माण विज्ञ, दक्ष मिस्त्री र सात जना स्वयंसेवकसहित १० जना रहेको टोली खटाउने भएको छ । 

महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकार, केन्द्रीय सदस्य एवम् भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पीडित प्रभावितलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको छ । 

जसअनुसार भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माणका लागि सहयोग गर्न एक निर्माण विज्ञ, दुई मिस्त्री र सात स्वयंसेवक रहने गरी दश÷दश जनाको समूह बनाई पहिलो चरणमा १३ टोली सम्बन्धित क्षेत्रमा पठाउने जनाइएको छ । 

उक्त टोलीले एक हप्ता काम गरेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा पठाएर पहिलो समूहलाई प्रतिस्थापन गर्ने छ । त्यस्तै, श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने तथा पठनपाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने उल्लेख छ ।

नेपाल विद्यालय संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने, भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनस्र्थापनासम्बन्धी अध्ययन गरी आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्याउने पनि बैठकले निर्णय गरेको छ ।

टिप्पणीहरू