मलेसियाजस्तै बनाउन सकिन्न नेपाललाई ?

मलेसियाजस्तै बनाउन सकिन्न नेपाललाई ?
सुन्नुहोस्

डिल्ली पाण्डे 

बर्सेनि लाखौं पर्यटक घुम्न आउँछन्, क्वालालम्पुर । केएल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सडकदेखि टावरसम्मै भेटिन्छन्– नेपाली, भारतीय, पाकिस्तानी र बर्मेली । क्वालालम्पुरले इञ्जिनियरिङको एउटा ठूलो र नयाँ आयाम देखाउँछ । यात्रु वा कामदार चकित पर्छन् । चोक, गल्ली, सडक हिँड्दै जाँदा समय बितेको पत्तै हुँदैन । केलाङ नदीले राजधानी शहरलाई वरिपरि बेरेको छ । तीरै–तीर डुल्दा समुद्री तटसम्मै पुग्न सकिन्छ । 

‘केएल’ मलेसियाको एउटा दृश्य हो– जसलाई पर्यटकहरू विकास र समृद्धिको आँखीझ्याल मान्छन् । जताततै कलकारखाना । कपालको धर्साजस्तै सडक, गगनचुम्बी भवन, केलाङको कञ्चन पानी, स्वच्छ नीलगगन । मनमोहक महानगरमा खानाका लागि हजारौं पर्यटक आउँछन् । ‘बुकिबिन्ताङ’मा दिनदिनै नयाँ–नयाँ मानिसको ओइरो लाग्छ । 

उनीहरू मलाय र चाइनीज ‘स्वाद’ लिन आइपुग्छन् । टावरमुनिको विशाल पदयात्रामा प्लाष्टिकका कुर्सी–टेबुल फैलिएका छन् । अनि स–साना स्टल । जालान अलोरमा खानाको अचम्मलाग्दो विविधता छ । सस्तो मूल्यमा माछा–मासु, चाइनिज साग, ओइस्टर सस, फ्राइड चाउचाउ र मिठाइको जीब्रो पट्काउँदै मज्जा लिन्छन् । कतिपय स्टलभित्र रक्सी पिइरहेका हुन्छन् । ‘बुकिबिन्ताङ’ पर्यटकीय हिसाबले ‘केएल’को मुख्य केन्द्र हो । पर्यटकहरू रातको समय खाना खानाका लागि यहाँ आइपुग्छन् । खान्की बजार रातभरि खुल्छ । तर दिउँसो पूरै बन्द । जालान अलोर लगभग सबै पर्यटकहरूले रोज्छन् । 

‘बुकिबिन्ताङ’ खाना केन्द्र हो । जहाँ चिनियाँ समुद्री खानाका लागि भीड लाग्छन् । युवायुवती भेटिने पार्लर । अनेकौं क्याफे–स्टल । कहिल्यै नसुत्ने सडक । हिँडिरहेका पैदल यात्री । अनि पाँच तारे होटल । 

लंकावी

‘लंकावी टापु’ आन्तरिक तथा विदेशी पर्यटकको संगमस्थल चारैतिरबाट समुद्रले घेरिएको ‘स्वर्गस्थल’ माथि एकताका ब्रिटिश र जर्मनले खेल मैदान बनाएको रैथानेहरू बताउँछन् । भलै ‘लंकावी–कथा’ प्रथम विश्व युद्धसँग सम्बन्धित छ । इतिहास र मनोरञ्जन लंकावी टापुका आफ्नै दाजुभाइ हुन् । जसको एकदमै फराकिलो गर्व लाग्दो विगत छ । तर पर्यटकहरू कथा कम सुन्छन्, रमाइलो ज्यादै गर्छन् । मलाय प्रायःद्वीपको रमणीय समुद्री तटमा भेटिन्छन्, हजारौँ विदेशी ।

अनि रमाउँछन्, होचो तटदेखि अग्लो जंगलसम्म । लोकप्रिय चेनाङ तटमा ठूलो भीडभाड हुन्छ । कोरोना महामारीपछि लंकावी टापुमा पर्यटकको संख्या ह्वात्तै बढेको चेनाङसहित थुप्रै सुन्दर समुद्री तट छन्, जहाँ मनोरञ्जन र आराम खोज्दै अनेकौं मानिस आउँछन् । लंकावीमा होटल र रिसोर्टको राम्रो विकास भएको छ । 

उत्तरी भागको तान्जुङ तट पनि उत्तिकै चर्चित छ ।

लंकावीलाई विश्वस्तरीय आकर्षणको केन्द्र बनाउन मलेसिया सरकारले पर्याप्त लगानी गरेको छ । समुद्री तटका कतिपय भाग व्यावसायिक मनोरञ्जनका लागि खोलिएका छन् । सुख–दुःख मेटाउन भरिभराउ आगन्तुक, नाटकीय चहलपहल । बालुवादेखि समुद्रमाथि खेलिरहेका भेटिन्छन्, युवा–युवती । टापुको शान्त सौन्दर्य । एकोहोरो बगिरहेको हावाको बेग । अनि समुद्र छेउको बेग्लै अनुभूति । साँच्चिकै रमाइलो छ यो ठाउँ ।


 

टिप्पणीहरू