नेपाली महिलामाथि दुबईमा शोषण

नेपाली महिलामाथि दुबईमा शोषण

धन कमाउन मान्छेले कतिसम्म तुच्छ क्रियाकलाप गर्छन् भन्ने भक्तपुर घर भई हाल युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई बस्ने भरत गिरीको व्यवहारले देखाइरहेको छ । उनले दुबईमा रोजगारी दिने भन्दै नेपाली चेलीमाथि गरेको शोषणबारे प्रहरीमा उजुरी पर्न थालेपछि आफूले पारिश्रमिक नदिएको स्वीकार गरेका छन् । 

फोन सम्पर्कका क्रममा गिरीले दुइटी महिलाको पारिश्रमिक दिन बाँकी रहेको स्वीकार गरेका छन् । उनले भने, ‘एउटी महिला सम्पर्कै नगरी नेपाल फर्किसकेको हुँदा पारिश्रमिक दिन नपाएको र अर्कीको पारिश्रमिक दिन बाँकी रहेको हो, उनी पनि मेरो सम्पर्कमा छैनन्, मैले नै दुबईमा खोजी गर्दा पनि भेटिएकी छैनन् ।’

युएईको स्थायी बसोबास अनुमति लिइसकेका गिरी पछिल्लो समय दुबईमा कामदार सप्लाई गर्ने कम्पनी चलाउँछन् । युएईमा वैधानिक दर्ता अनुमति प्राप्त उनको’ अभारिका गिरी टेक्निकल एण्ड क्लिनिङ सर्भिस’ले खासगरी महिला कामदारको धन्दा बढी गर्छ ।मकवानपुर घर भई चुरियामाई –२ की संगिता गोलेलाई मासिक २ हजार दिरामको प्रलोभनमा पारेका भरत गिरीले अन्ततः आफ्नो कम्पनीमा आउने ग्राहकलाई ‘खुशी पार्नुपर्ने’ भन्दै यौन धन्दा गराउन बाध्य पारेपछि संगिताले त्यो कम्पनी नै छाडेर नेपाल फर्केको बताइन् । संगिताले भरत गिरीमाथि वास्तविक धन्दा उजागर गर्दै कारबाहीका लागि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी निवेदनसमेत दर्ता गराएकी छन् । 

उनै संगिताका अनुसार दुबईमा अरु धेरै नेपाली महिला कामदार यस्तै यस्तै पीडामा छन् । चन्द्रनिगाहपुरकी रिता खड्का त लामो समयदेखि आफैँ बन्धक जस्तो अवस्थामा पुगेकी छन् । भरत गिरीले नै पारिश्रमिक र काम पनि फेरिदिने र भिसाको म्याद बढाइदिने भन्दै झुक्यानमा पारेर त्यहाँ अवैध जस्तै अवस्थामा पु¥याएपछि आफैँ बन्धक जीवन बिताउन बाध्य भएकी हुन् । उनी भन्दै थिइन्, ‘तपार्ईंंले त्यहाँ भरत गिरीकै कारण रिताले खेप्दै आएको दुःख–कष्ट सुन्न चाहनुहुन्छ भने भिडियो कल गरिदिन्छु । उनीबाटै सुन्नुस् भरत गिरीको धन्दा के हो ?’

यता, उजुरी निवेदन पेश गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्दा आरोपित गिरीमाथि मानव बेचविखन मुद्दा अनुसन्धान प्रक्रियामा रहेको बताइएको छ । ‘भरत गिरी फोन सम्पर्कमा आएका छन्, छिट्टै काठमाडौं आउने र कार्यालयमा उपस्थित हुने प्रतिवद्धता जनाएका छन्,’ उक्त कार्यालयका वैदेशिक रोजगार पिलरका एक अधिकारीले भने, ‘उजुरीकै आधारमा कारवाही प्रक्रिया अघि बढाइहाल्नु भन्दा पनि एक पटक आरोपितका कुरा पनि सुन्नुपर्ने हुन्छ ।’ तिहारअगाडि नै आफू सम्पर्कमा आउने गिरीले बताएको प्रहरीको दाबी छ । 

भक्तपुरको बागेश्वरी घर भएका भरत दुबईमा बसे पनि उनकी श्रीमती अञ्जली बिष्ट भने पशुपति क्षेत्र नजिकै गौरीघाटमा बस्छिन्, उनी त्यसै क्षेत्रको एक निजी स्कुलमा अध्यापन कार्यमा संलग्न रहेको बताइन्छ । भाइ शालिकराम जो मेनपावर व्यवसायी पनि हुन्, उनीसमेत त्यही घरमा बस्छन् । नेपाल आउँदा–जाँदा भरत त्यही घरमा बस्छन्, तर अञ्जलीले श्रीमान्का बारेमा जानकारी माग्न खोज्यो भने डिभोर्स भइसकेको बताउँछिन् भने भाइ शालिकराम आफ्नो र दाजुबीच कुनै सम्बन्ध नरहेको बताएर उम्कन्छन् ।


 

टिप्पणीहरू