च्यासलमा झलनाथ, यता चासो

च्यासलमा झलनाथ, यता चासो
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा अघिल्लो साता एमालेद्वारा च्यासलमा आयोजित चियापान कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल गएको विषय मज्जैसँग उठेको छ ।

सहभागी नेताहरूले पार्टी नेताको हैसियत उल्लेख नगरी भूतपूर्व प्रधानमन्त्रीको नाममा पठाइएको निम्तो मान्न खनाल पुग्नुको कारण खोजेपछि बैठक एकैछिन एजेण्डाबाट अल्मलिएको थियो । निम्तोलाई स्वीकार नगरी अध्यक्ष माधवकुमार नेपाल भने गृह जिल्ला रौतहटमै घुमिरहनु भएको थियो । सचिव रामकुमारी झाँक्रीबाहेक समाजवादीका अरू कोही पनि नेता चियापानमा नगएपछि एक्लै पर्नुभएका खनाललाई जानैपर्ने बाध्यता के पर्‍यो ? भन्दै केही पदाधिकारीले घोचपेच गरेको बताइन्छ । ‘तर, त्यसबारे उहाँले बैठकमा कुनै जवाफ दिनुभएन,’ स्रोतले भन्यो । सल्लाह गरेरै गएको भए राम्रो हुनेमा एक्लै जानु ठीक हैन कि भन्ने आशयबाट कुरा राखिएको थियो । त्यसबारे केही पनि बोल्नुभएन ।’

सोही बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित निम्ति २५ लाख रूपैयाँ सरकारी राहत कोषमा दिने निर्णय गरेबमोजिम चेक प्रधानमन्त्रीलाई दिइसकिएको छ तर निर्णयमा भने जनप्रतिनिधि र कार्यकर्तालगायतलाई आर्थिक सहयोगको निम्ति आह्वान गर्ने र राजनीतिक नियुक्ति लिएकासँग पनि सहयोग माग्ने भनिएको छ ।

जसअनुसार मन्त्री र जननिर्वाचित जनप्रतिनिधिहरूसँग १५ दिनको पारिश्रमिक लिने निर्णय गरिएको बताइन्छ । बैठकमा मेची–महाकाली अभियानमा अन्य पार्टीका १० हजार नेता तथा कार्यकर्ता समाजवादीमा प्रवेश गरेको रिपोर्टिङसमेत भएको छ । समीक्षामा भनिएको छ, ‘तर ती सबै ग्रासरुट लेभलका हुन् ।’ तराई र भित्री मधेशका जिल्लामा मात्र गरिएको १५ दिन लामो अभियानमा पहाडको संख्या जोडिनै बाँकी रहेको निचोड छ । 

बैठकको भोलिपल्ट चीन भ्रमणमा गएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको १५ सदस्यीय टोली युन्नान प्रान्तको खुनमिङ पुगेको छ । यसअघि महासचिव घनश्याम भुसाल पनि दशैंको बिदामा बेइजिङ पुगेर आएको बुझिएको छ । यसबारे उहाँले भन्नुभयो, ‘कात्तिक ५ गते बेइजिङ पुगियो । ६ गते छोरो अध्ययनरत विश्वविद्यालयमा गइयो । ७ गते स्वास्थ्यपरीक्षण गरेर फर्केको हुँ ।’ केही समयअघि बेहोस भएको र सोहीबारे यताको हस्पिटलको रिपोर्ट चिनियाँ चिकित्सकलाई देखाएर फर्केको महासचिव भुसालको भनाइ छ । 
 

टिप्पणीहरू