एनआरएनएकाे असन्तुष्ट समूह हिजो कफी शपमा, आज परराष्ट्र मन्त्रालयमा

एनआरएनएकाे असन्तुष्ट समूह हिजो कफी शपमा, आज परराष्ट्र मन्त्रालयमा
सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वःघोषित अध्यक्ष राजकुमार शर्मा (आरके) नेतृत्वको कार्यसमितिले आधिकारिताको मागसहित परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ । 

आरके नेतृत्वको कार्यसमितिलाई आधिकारिताको दाबी गर्दै उनको पक्षले आज परराष्ट्रमा निवेदन दर्ता गरेको हो । महाअधिवेशन सम्पन्न गरेको कागजात पेश गर्दै उक्त पक्षले आफ्नो कार्यसमिति आधिकारिक रहेको दाबी गरेको छ । 

दर्ता नम्बर ११२३ रहेको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतको नाम उल्लेख छ । आधिकारिताको दाबी गर्दै निवेदन दर्ता गरिए पनि तत्काल निर्णय नहुने मन्त्रालय स्रोतले जनाएको छ । 

काठमाडौंबाट मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि एनआरएनएमा विवाद सिर्जना भएको थियो । 

कात्तिक २ गतेको अनलाइन भोटिङ्गमा धाँधली भएको उल्लेख गर्दै चर्को विरोध गरिएको थियो । अध्यक्षका उम्मेदवार आरके शर्मा र महेशकुमार श्रेष्ठले मत परिणाम अस्वीकार गरेका हुन् ।

यसअघि संघका अध्यक्ष बद्री केसी र स्वःघोषित अध्यक्ष शर्माबीच हिजो ठमेलको हिमालयन जाभामा भेटवार्ता भएको थियो । उक्त भेटमा शर्माले पुनः निर्वाचन हुनुपर्ने माग राखेका थिए । 

शर्माको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘चुनावमा अनियमितता भयो, त्यसलाई सच्याउनु भनेको पुनर्निर्वाचन हो । तर केसीले मानेनन् ।’ गत शुक्रबारको निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए । 

निर्वाचन समितिले केसीलाई विजयीको घोषणा गरेर अध्यक्षको शपथ गराएको थियो । त्यसपछि असन्तुष्ट पक्षले आरके शर्मालाई अध्यक्ष चयन गरेको हो । 

भेरो अनलाइन भोटिङमार्फत् भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि गरिएको शर्मा पक्षको दाबी छ ।
 

टिप्पणीहरू