लडेरै जसले दुई भिक्टोरिया क्रस हात पारे

लडेरै जसले दुई भिक्टोरिया क्रस हात पारे

बहादुरीको पनि सीमा हुन्छ । तर, यो सीमा कसैको हकमा भने लागू नहुने रहेछ । बहादुरी, सनक हो या के हो त्यो छुट्याउन भने मुश्किल छ । के मान्छे साँच्चै बहादुर हुन्छ ? मृत्युसँग किन डराउँदैन मान्छे ? तोप, मेसिनगन, बम, गोलीका पर्राहरूसँग कसरी खेल्न सक्छ ? त्यसैको एक उदाहरण हुन् चाल्र्स हाजिलित उपहाम, जसले द्वितीय विश्वयुद्ध लड्दा दुईवटा ‘भिक्टोरिया क्रस’ पाए ।

अहिलेसम्मकै लडेर भिक्टोरिया क्रस पाउने पहिलो योद्धा अर्थात् सिपाही हुन् उनी । यो कसरी सम्भव भयो त ? प्रसिद्ध लेखक टोम स्कट भन्छन्– ‘उनले आठ वटा भिक्टोरिया क्रस पाउनुपर्ने थियो तर मात्रै दुई वटा पाए ।’ उनैको कमाण्डर जनरल किपनबर्गरलाई राजा जर्ज छैटौँंले सोध्दा भने, ‘सरकार, चाल्र्सले धेरै भिक्टोरिया क्रस पाउने लडाइँ लडेको छ तसर्थ दोस्रो त्यसैका लागि सिफारिस गरेको हो ।’

सन् १९०८ मा जन्मिएका उपहाम कृषि विज्ञानका स्नातक हुन् । खेतीपाती, पशुपालनमा रमाउँदा रमाउँदै युरोपमा छेंडिएको विश्वयुद्धको कारण सिपाही बन्न नाम लेखाए ।हिटलरको युद्ध युरोपमा मडारिरहेको थियो । यस्तो भिषण अवस्थामा न्युजिल्याण्डको सेना मार्च १९४१ मा इजिप्टबाट भूमध्यसागर पार गरेर ग्रिस उत्रियो । नाजी सेनाले हवाई हमला ग¥यो, उपहाम युद्ध पर्खिरहेका थिए । बमवारीको बीचमा कहिल्यै हेल्मेट लगाएनन् ।

कमाण्डर किपले किन नलगाएको भन्दा यो समयको बर्बादी हो भन्ने जवाफ दिए । मेलामउपर न्युजिल्याण्ड सेनामाथि आक्रमण भयो । लेफ्टिनेण्ट उपहाम एक्लै अघि बढेर ग्रिनेडको सहायताले ८ जना जर्मनीलाई मारे । मोर्टारको टुक्राले आफैँ घाइते भएर एउटा हात नचल्ने भयो । तैपनि, प्लाटुन छाडेनन् । गलातासमा भिषण लडाइँ भयो । उपहामले हिम्मतसाथ प्लाटुनलाई कभरमा राखेर करिब ४० नाजी सेनालाई सोत्तर पारे ।

एकदिन बिबिसीले समाचारमा भन्यो कि चाल्र्स उपहामले भिक्टोरिया क्रस पाए । तर, उनले म मात्रै यो पदक पाउन योग्य हैन, हजारौं सैनिकले लडेको लडाइँ हो भनेर दुखेसो पोखे । तीन दिनपछि २० बटालियनका सार्जेण्ट ज्याक हिण्टनले कालामाटाको लडाइँमा भिसी पाए । तर, उनी जर्मनीको युद्धबन्दी बनाइए ।

मध्यपूर्वी कमाण्डका जनरल अउचिनलेकले फिल्डमै चाल्र्सलाई भिक्टोरिया क्रस लगाइदिए । कमनवेल्थभरि चाल्र्स प्रसिद्ध भए । कहिल्यै युनिफर्ममा केयर नगर्ने स्वभावका चाल्र्सले भिक्टोरिया क्रसको रिबन लगाएनन् तर यो राजाको अपमान हुन्छ भनेर जनरल फ्रेबर्गले सम्झाएपछि लगाए । मगनी मात्र भएकी तर औपचारिक बिहे नभएकी श्रीमती मोलीलाई भिसी उल्लेख गरेर पत्र नलेख्न सम्झाए । युद्धको हिरोलाई आफ्नो देश पठाउँदा सबैलाई प्रेरणा हुन्छ भनेर अफिसले बिदा छाड्ने योजना बनायो । त्यो जानकारी दिने सहायक सैन्य सचिवको अगाडि चाल्र्सले आँसु झारे । मलाई यस्तो बेलामा बिदा नछाडियोस् । पल्टन सबै मरुभूमिमा तैनाथ छ, यस्तो बेला म बिदा गएँ भने के भन्लान् भनेर जिद्धी कसे । चाल्र्स कप्तान भए र प्लाटुनबाट कम्पनी कमाण्डर । नाजी सेनाले अफ्रिकामा आक्रमण गरिसकेको थियो । इजिप्ट जोगाउन धौधौ पर्ने अवस्था आयो । केही समय सिरियामा तैनाथ भए । जहाँ गए पनि डिफेन्स अति मिहिन तवरमा बनाउने स्वभावका थिए ।

इजिप्टमा हिटलरका कहलिएका जनरल रोमेलले आक्रमण जारी राखे । लडाइँ छेडियो । डिभिजन कमाण्डर फ्रेबर्ग स्वयं घाइते भए । जनरल इगलिसले डिभ सम्हाले, कर्णेल बुरोजले ब्रिगेड । न्युजिल्याण्ड सेना सखाप हुनबाट जोगियो । चाल्र्स उपहामको पल्टनले ग्रिनेड प्रहार गर्दै संगिन चार्ज गरेर शत्रुउपर धावा बोल्यो । उपहामको अनुपम बहादुरी देखेर कर्णेल बुरोजले जनरल किपेनवर्गरलाई अनुरोध गरे कि मिनकार कयमको लडाइँमा चाल्र्सलाई अर्को भिक्टोरिया क्रस दिनुपर्छ । ११ जुलाई १९४२ मा न्युजिल्याण्ड डिभिजनले रुवेसात थुम्काको लडाइँमा भाग लियो । चाल्र्सलाई मेसिनगनको गोली लाग्यो । उनी रिजनल एड पोष्टमा उपचारका लागि पठाइए । सामान्य उपचारपछि कम्पनीमा फर्किए, न्युजिल्याण्ड सेनाको ठूलो क्षति भयो । चाल्र्सको खुट्टामा गोली लाग्यो, हिँड्न नसक्ने भए तर अझै लड्न चाहन्थे । उपहाम अरु न्युजिल्याण्डका सैनिकसँगै जर्मनीको युद्धबन्दी बन्न पुगे ।

इटालीको डाक्टरले बिना एनेस्थेसिया हात काट्ने भए । चाल्र्सले प्रतिवाद गरे– म उपचार गर्दिन भनेर । मेर्सा मातुहबाट युद्धबन्दीलाई बोकेर पानीजहाज इटाली हिँड्यो । जहाजमा जर्मनी अफिसरले हामी विश्वकै प्रसिद्ध जाति हो भनेर युद्धबन्दीलाई होच्याए । इटालीको रेग्गियो बन्दरगाहमा जहाज रोकियो । विस्तारै चाल्र्स भिक्टोरिया क्रस पाउने बहादुर कप्तान हो भन्ने सुइँको पाए । जहाजबाट ओरालेपछि युद्धबन्दीलाई जनताको सामु परेड गराइयो । सारा मानिस हेर्न जम्मा भए । रोग्गियोबाट युद्धबन्दीलाई रेलमा उत्तरतर्फ लगियो र नेपल्सको कासर्टा अस्पतालमा उपचार भयो । हात काट्नबाट जोगियो । त्यहाँबाट इटालीकै कासल सन पिट्रो लगे ।

त्यहाँबाट २४० न्युजिल्याण्ड र ८०० दक्षिण अफ्रिकन युद्धबन्दीलाई मोडेनाको बन्दी गृहमा सारियो । चाल्र्सले कसरी भाग्न सकिन्छ भनेर अनेक दाउ हेरिरहे । त्यहाँका नाजी कप्तानको घाँटी समाए । यसै अवधिमा अमेरिकाले प्यासिफिकमा धावा बोल्यो, मोण्टगोमेरीको आठौं सेनाले अफ्रिकामा नाजी सेनालाई परास्त ग¥यो । अब युृरोप एलिड फौजको अन्तिम टार्गेट बन्न गयो ।

सिसिली कब्जा गरेपश्चात् इटालीसँग युद्धविराम भयो । सोहीअनुसार युद्धबन्दी छाड्नुपर्ने थियो तर इटालीले घात ग¥यो । जर्मनीको हातमा मोडेनाको युद्धबन्दी गृह सुम्पियो । जर्मनी सेनाले युद्धबन्दीलाई इटालीबाट लिएर जाने भयो । इटालीको पो नदी पार गर्ने बेलामा चाल्र्स ट्रकबाट हाम्फाले । नाजी एसएस सेनाले धुइँपत्ताल लगाएर खोजे तर सामान्य बेहोसीले गर्दा चाल्र्स उम्कन सकेनन् । यसरी भाग्ने युद्धबन्दीलाई तत्कालै गोली हान्नुपर्ने थियो तर फिल्डवेबेल नामक इञ्चार्जले गोली हान्न दिएनन् । युद्धबन्दीलाई हप्तौँ लगाएर ओफेनवर्ग ल्याइयो ।

त्यहाँबाट वेन्सवर्ग । न्युजिल्याण्ड, अफ्रिकन र बेलायती युद्धबन्दी एकसाथ भए । एलिट सेनाले आकाशबाट पर्चा छर्न थाल्यो । तर, कसैलाई पनि टिप्न दिइएन । चाल्र्सले टिपे । उनले त्यहाँबाट पनि कसरी भाग्ने भनेर सबै नियाले । बन्दीगृहको कमाण्डरले त्यो कुरा थाहा पाए । उनले तार कसरी काट्ने, कसरी फाल हाल्ने आदि कैयौं पटक हेरे । हिउँ परेको रात चाल्र्स एकदिन हाम्फाले । तर, लेयर लेयरको तार नाघ्न सकेनन् र पुनः पक्राउ परे । कमाण्डेण्ट हाउपमेन नाप्पले कन्सर्टिना तारमा जेलिएका उपहामको फोटो लिए । उनलाई अब गोली हान्ने निश्चित भयो । तर ब्रिटिश कर्णेल डे वियरले यदि चाल्र्सलाई मारिएको खण्डमा यसको जिम्मेवार तिमी हुनेछौ र युद्धपछि कानुनी कठघरामा उभिनेछौ भनेर धम्की दिए ।

यस्तो खतरनाक युद्धबन्दीलाई अब त्यहाँ पनि नराखिने भयो । चाल्र्सलाई १९४४ मा जर्मनीकै कोलडिजको कासलमा पठाइयो । जुन कुनै पनि युद्धबन्दी भाग्न नसक्ने खालको थियो । १९४५ लाग्यो । बिबिसीको गोप्य समाचार सुन्दा फौज जर्मनीतर्फ अघि बढिरहेको उत्साहवद्र्धक समाचार सुनियो । कोल्डिज बन्दीगृहमा युद्धबन्दीको भविष्य के हुने भन्ने चिन्ता छायो । जहाँ विन्स्टन चर्चिलका भतिजा, पूर्वरानी एलिजाबेथका भतिजा, राजा जर्ज छैटौंका भतिजा, बेलायतस्थित अमेरिकी राजदूतका छोरा, अमेरिकी प्यारासुट कर्णेल ड्युक र थुप्रै फ्रान्स तथा पोल्याण्डका जनरल तथा अधिकृतलाई राखिएको थियो ।

१० अप्रिल १९४५ मा बन्दीगृहसम्मै गोलीको आवाज आउन थाल्यो । लिपजिग मात्र २५ माइलको दूरीमा थियो । बन्दीगृहका कर्णेल टोडले कमाण्डेण्टसँग वार्ता गरे । तर, नाजीहरूको खतरनाक एस. एस. डिभिजन आउने र त्यसले युद्धबन्दीलाई जे पनि गर्न सक्ने हल्ला फैलियो । १२ अप्रिलमा नाजी हाईकमाण्डले युद्धबन्दीलाई त्यहाँबाट अष्ट्रिया लैजाने भयो । सबै चिन्तित भए । कर्णेल टोडले यसो गरेमा युद्धबन्दीउपर रक्तपात हुने र त्यसको जिम्मेवारी क्याम्प कमाण्डेण्टले लिनु पर्ने धम्की दिए । सौभाग्यको कुरा,े १५ अप्रिलमा अमेरिकी सेनाका ट्याङ्क बाटोमा देखापरे । उनीहरूको रेक्की सेक्सन युद्धबन्दी राखेको गेटभित्र प्रवेश ग¥यो । सोही बखत युद्धशिविरका जर्मनी सेनाले आत्मसमर्पण गरे । सवै युद्धबन्दी कारागारबाट नजिकैको गाउँमा लगिए । त्यहाँबाट अमेरिकी फौजको हेडक्वार्टरमा । क्याप्टेन उपहाम अझै लड्न चाहन्थे । उनले अमेरिकी सेनाको युनिफर्म, बुट लगाए, टमी गन, पिस्तोल र ग्रिनेड समाए । युद्ध अझै जारी थियो । उनी अमेरिकी सँगै लडाइँमा होमिन चाहन्थे । केही दिनपछि युद्धबन्दीलाई लडाइँमा नपठाउने निर्णय भएअनुसार सबैलाई बेलायत पठाइयो । युरोपमा बन्दी बनाइएका ९ हजार न्युजिल्याण्डका सेनाहरू धमाधम् बेलायत आउन थाले । उनले प्रेमिका मोलीको सोधखोज गरे । उनी रेडक्रसको सेवार्थ जर्मनीमा रहिछन् ।

साथीहरूसँगको भेटघाटमा रमाए । एकदिन चिठी आयो राजदरवारबाट । राजा जर्ज छैठौंको तर्फबाट रहेछ । मोली र उनको बहिनीलाई लिएर दरवार गए । ११ मे १९४५ मा बकिंङ्घम राजप्रसादमा औपचारिक रूपमा राजाले क्याप्टेन चाल्र्स हाजिलिट उपहामलाई पहिलो भिक्टोरिया क्रस औपचारिक रूपमा लगाइदिए । राजाले ‘क्याप्टेन, यो मात्र तिम्रो मेडल हैन । तिमीले युद्धशिविरबाट भाग्न गरेको बहादुरीस्वरूप मेन्सन अफ डिस्प्याचसमेत पाउँदैछौ’ भन्दै बधाइ दिए । औपचारिक रूपामा मोलीसँग बिहे भयो, स्कटल्याण्डमा हनिमुन मनाए ।

अब देश फिर्तीको पर्खाइमा रहे । फौजलाई मात्र लैजाने पानीजहाज भएकोले मोलीलाई सँगै लैजान पाएनन् । २ सेप्टेम्बरमा पानीजहाज न्युजिल्याण्ड उत्रियो । स्वागत गर्न बुबा आमासहित सारा आफन्त आएका रहेछन् । १९३९ मा हिंडेका उपहाम करिब ६ वर्षको कठिन जीवनपश्चात् घरमा आइपुगे । बुबा, आमा आफन्तलाई कोसेली दिए । आमालाई भिक्टोरिया क्रसको मेडल दिए । उनको नागरिक अभिनन्दन भयो । यो श्रेय मेरो मात्र नभै पूरा लडाइँमा सहभागी डिभिजनको हो, मभन्दा उत्कृष्ट सिपाहीहरू अरु थिए भनेर शालिन मन्तव्य दिए ।

इजिप्टको लडाइँमा बटालियन कमाण्डर कर्णेल बुरोजले त्यहीबेला उपहामले अर्को भिसी पाउनुपर्छ भनेर सिफारिस गरिसकेका थिए । दिन त उनलाई मिनकार क्विम र रुवेसातको लडाइँ दुवैमा भिसी दिनुपर्ने थियो । उनले त्यहाँ पाँचवटा अलग–अलग एक्सनमा अदम्य बहादुरी देखाएका थिए । लडेर दुईवटै भिक्टोरिया क्रस कसैले नपाएको अवस्थामा तीन वटाका लागि सिफारिस गर्न असहज भएको कारण सबै एक्सनको एकमुष्ट सिफारिस गरियो । भित्रभित्रै उक्त युद्धमा देखाएको बहादुरीको रिपोर्ट लण्डनमा पेश भइसकेको थियो । क्याप्टेन उपहाम आफैँ युद्धबन्दीको रूपमा बेखवर भएको अवस्थामा करिब तीन वर्ष कुनै निर्णय हुन सकेन । युद्ध करिब–करिब अन्त्य भएको अवस्थामा जनरल किपेनबर्गरलाई एकदिन राजाबाट बोलावट भयो । राजाले भने– जनरल, मैले क्याप्टेन चाल्र्स उपहामको रिपोर्ट सबै पढें, यसको बारेमा तिमीलाई थाहा छ, नब्बे वर्षको इतिहासमा बिरलै दुईपटक भिक्टोरिया क्रस दिइएको छ, त्यसमा मात्रै दुईजना मेडिकल अधिकृतले पाएका छन् । जनरल किपले सरकारसमक्ष बिनम्र जाहेर गरे– ‘सरकार, क्याप्टेन उपहामले कैयौं भिसी पाउने लडाइँ लडेका छन् ।’ राजाले जनरललाई धन्यवाद दिए ।

२६ सेप्टेम्बर १९४५ मा न्यजिल्याण्डमा बस्दा बस्दै रक्षामन्त्रीको टेलिग्राम आयो । न्युजिल्याण्डको प्रधानमन्त्रीका अनुसार क्याप्टेन चाल्र्स हाजिलित उपहामले लडाइँमा देखाएको अनुपम् सौर्य, वीरताको कदर गर्दै दोश्रो भिक्टोरिया क्रस प्राप्त गरेकाले हार्दिक बधाइ छ भने । एकाएक संसारभरि उक्त खवर फैलियो । कैयौं पत्रपत्रिकाको प्रमुख शीर्षक बन्यो । दुईपटक भिक्टोरिया क्रस पाउने पहिलो इन्फेण्ट्री भए उपहाम । न्युजिल्याण्डमा बधाइको ओइरो लाग्यो । क्रिस्टचर्चका मेयरले उनको बहादुरीको कदर गर्दै नागरिकहरूसँग आह्वान गरेर १० हजार पाउण्ड संकलन गरे– उपहामको लागि जग्गा किनिदिन ।

तर चाल्र्सले आमासँग सल्लाह गरे यत्रो भीषण लडाइँमा कति मारिए, घाइते भए तर म बाँचें, त्यही ठूलो कुरा हो । लडाइँमा मारिनेहरूको सन्ततीको अवस्था कमजोर हुन्छ, तसर्थ म यो पैसा लिन्न भने । आमा सहमत भइन् । उनले लामो चिठी लेखेर पैसा नलिने जानकारी गराए । अन्तमा युद्धमा मारिने, घाइतेका सन्ततीको लागि छात्रबृत्ति राखिने भयो चाल्र्स उपहाम छात्रवृत्ति कोषको नाममा । न्युजिल्याण्डकै प्रसिद्ध जनरल र उपहामलाई रिक्रुटदेखि लडाइँसम्म अभिप्रेरित गर्ने जनरल किपनबर्गर उक्त कोषको कमिटीमा रहने भए । बिजयी दिवसको कार्यक्रममा प्रधानमन्त्रीसँग लण्डन गए ।

जनरल किपसँग ग्रिस पुगे । पछि महारानी एलिजाबेथ, मुमा बडामहारानी, फिल्डमार्शल मण्टगोमेरी न्युजिल्याण्ड आए । रानीसँग कुरा गरे । पुन १९५६ मा भिक्टोरिया क्रस पाउनेको कार्यक्रममा लण्डन गए । लर्ड माउण्टबेटनसँग भेट भयो । यसरी विश्वप्रसिद्ध, बहादुर फौजीको नोभेम्बर १९९४ मा ८६ वर्षको उमेरमा निधन भयो । हजारौं शुभचिन्तकको उपस्थितिमा सैनिक सम्मानसाथ न्युजिल्याण्डका बहादुर सैनिकको अन्त्येष्टि गरियो ।

(पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सुरक्षा र न्याय अध्ययन केन्द्रमा आबद्ध हुनुहुन्छ)

टिप्पणीहरू