बिचौलियाको दबाबमा डाक्टरको बोलावट, बझाङ्गीलाई चोट !

बिचौलियाको दबाबमा डाक्टरको बोलावट, बझाङ्गीलाई चोट !
सुन्नुहोस्

–   टेकसिंह धामी

नेपालको स्वास्थ्य क्षेत्रमा बिचौलियाको रजगज कतिसम्म छ भन्ने उदाहरण बझाङ अस्पतालको एउटा घटनाले देखाएको छ । अस्तिका दिन जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले बिचौलियाहरुको चलखेल र रजगज स्पष्ट भएको हो ।

बुधबारसम्म नियमित काममा रहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक विनाकारण काज फिर्ता गरिएको छ । अस्पताल स्रोतका अनुसार मेडिकल बिचौलिया र औषधि आपूर्तिकर्ताहरुको दबाबमा अस्पतालका चिकित्सकीय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको बताइन्छ ।

सुदूरपश्चिमका ठूला मेडिकल बिचौलिया मानिने दुष्यन्त बस्नेत र मुरलीधर जोशीसहितको दबाब र स्वास्थ्यमन्त्रीको सचिवालयको निर्देशनमा सचिवस्तरको निर्णयानुसार डाक्टर जोशीको मन्त्रालयमै काज फिर्ता गराइएको स्रोतको दाबी छ । डाक्टर जोशी संघअन्तरगत दरबन्दी रहेका बझाङ अस्पतालका एकमात्र स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन् ।

१५ महिना अघिमात्रै उनलाई बझाङ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको हैसियतमा पठाइएको थियो । उनलाई मन्त्रालय तानेपछी बझाङ अस्पतालको प्रसूती सेवासहित प्रशासनिक काम प्रभावित भएको छ । यसैपनि दुर्गम बझाङमा विशेषज्ञ जनशक्ति जानसमेत नमान्ने अवस्था छ । त्यसमाथि झन् राजनैनिक दबाब र माफियाहरुको हस्तक्षेपका कारण चिकित्सकलाई टिक्न समस्या भइरहेको बताइन्छ ।

सुदूरपश्चिम प्रदेशकै दुर्गम मानिने बझाङ, बाजुरामा स्वास्थ्य र जनस्वास्थ्य क्षेत्र यसैपनि लथालिङ्ग छ । त्यसमा झन् केही समयदेखि लगातार बेला–बेलामा गइरहेको भूकम्पले झन् सकस परेको स्थानीयले बताएका छन् । छिनछिनमा बझाङबासीलाई झस्काइरहेको भूकम्पका कारण अस्पतालको सेवा प्रवाह र दैनिक काम पनि संकटमा परेको छ ।

यसैबेला मन्त्रालयले बिनाकारण अस्पतालको सेवा प्रभावित हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरेपछि थप समस्या उत्पन्न भएको अस्पतालका निमित्त मेसु डा. इन्द्र शाहले जानकारी दिए । अहिले उनले नै अस्पताल प्रशासन सम्हालिरहेका छन् । 

एकमात्र विशेषज्ञ चिकित्सक रहेको बझाङ अस्पतालका डाक्टर जोशीलाई मन्त्रालयमा तान्दा प्रसूती शल्यक्रियासहितका सेवाहरु बन्दप्रायः भएका छन् । यस्तै प्रसूतीको क्रममा हुने जटिल अपरेसनहरु पनि बन्द भएको छ । सेवा बन्द हुँदा बझाङसहितका अन्य जिल्लाका सेवाग्राही समेत मर्कामा परेका छन् ।

समाचार स्रोतका अनुसार डाक्टर जोशीले मेडिकल व्यवसायीका बिलहरु र प्रदान गरिएका उपकरणसहितका सामाग्रीमा गुणस्तर, पारदर्शिताको कुरा उठाउँदा काज फिर्ता गराइएको हो । डा. जोशीले पनि केही व्यवसायीको स्वार्थमा आफ्नो काज फिर्ता भएको बताएका छन् । मेडिकल आपूर्तिकर्ताहरुलाई गुणस्तरीय उपकरण र सामाग्री माग गरेर भुक्तानीमा कडाइ गर्दा राजनैनिक पहुँचका भरमा आफ्नो काज फिर्ता गराएको हुनसक्ने उनको बुझाई छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने आफूलाई काज फिर्ता गरिएको विषय थाहा नभएको बताए । 

गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको आधारमा बझाङ जिल्ला अस्पताल मुलुककै दोस्रो बनेको थियो ।

टिप्पणीहरू