यो डाक्टर कुट्ने भाइ फुट्ने देश हो

यो डाक्टर कुट्ने भाइ फुट्ने देश हो

–श्याम रिमाल  

      ‘बिरामीको सेवा मात्र हाम्रो धर्म
            कसले बुझिदिने हाम्रा मर्म 
            अस्पतालभित्रै गुण्डागर्दी
            लजायो होला प्रहरीको बर्दी’

मुटु दुखेर अस्पताल पुगेको बिरामी पेश मेकर लगाउँदै घर पुगी सोफामा पल्टेर टेलिभिजन हेरिरहेको हुन्छ । सवारी साधनलगायत दुर्घटनामा परी अत्यधिक रगत बगेर मरणासन्न घाइते रगत पाएर आँखा खोल्न थाल्छ । रातबिरात आकस्मिक कक्षमा भर्ना गरिएको दमको रोगी अक्सिजन लगाएपछि स्वस्थ महसुस गर्न थाल्छ । चिकित्सक, उपचार पद्धति, अस्पताल–स्वास्थ्य संस्था नहुँदो हो त संसारमा अनाहक कतिले ज्यान गुमाउनुपथ्र्याे होला ! 

विज्ञान र प्रविधिको विकाससँगै चिकित्सा क्षेत्रमा आशै नगरिएका प्रगतिहरू भएका छन् । कृत्रिम श्वासप्रश्वासबाट जीवन बचाइदिने, मुटु फेर्ने, बाइपास सर्जरीे, प्लास्टिक सर्जरीे, अङ्गप्रत्यङ्ग प्रत्यारोपण, शरीरका भित्री अङ्गहरूको सूक्ष्म तरिकाले एक्स–रे गर्ने, नयाँ नयाँ भाइरस–रोगहरूसँगै खोप पत्ता लगाउने, टाढाका बिरामीलाई टेलिप्याथी उपचार माध्यमबाट रोग पत्ता लगाउने र सल्लाह दिनेजस्ता अनगिन्ती सफलता प्राप्त हुनुका साथै कुनै राष्ट्रको सरदर आयुमा बढोत्तरी भइरहनु स्वास्थ्य क्षेत्रकै देन र विकास हुन् । 

तथापि नेपाल र अन्य देशका विभिन्न अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी बारम्बार कुटिँदै छन्, साङ्घातिक आक्रमणमा परेका छन् । पछिल्लो समय कास्की, पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत, कञ्चनपुर, मकवानपुरको हेटौँडा अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा अस्पताल तोडफोड भएकामा आइतबार काठमाडौँ, सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा डक्टर कुटिएका छन् । दोषीलाई कारवाही गरिने भनी गृह मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच शनिबार सहमति भएको २४ घण्टा नबित्दै आइतबार केएमसीमा इन्टर्न गरिरहेका चिकित्सक कुटिए र स्वास्थ्यकर्मीलगायत  पानीमा रुझ्दै विरोधमा उत्रे । बिरामीको उपचारमा लापरबाही भएको आरोप लगाउँदै तिनका आफन्त चिकित्सकमाथि हिंसामा उत्रनु कत्तिको जायज हो, यस प्रश्नको जवाफ खोजिनुपर्छ । अब मुलुकलाई शिक्षक, प्राध्यापक, चिकित्सक कुटिने देशका रूपमा परिचित गराइनुहुन्न । 

बिरामीको उपचारमा लापरबाही वा हेलचेक्याइँ गरेको आरोपमा तिनका आफन्तले कुटपिट गर्ने घटना नेपालमा बहुदलीय व्यवस्थापछि शुरु भएको जस्तो लाग्छ । मानिसहरू अलि शिक्षित, जान्नेसुन्ने पनि हुन थाले, रोगका प्रवृत्ति, अस्पताल व्यवस्थापन र चिकित्सकीय सेवाको गुणस्तरबारे ज्ञान बढ्यो, अन्याय नसहने प्रवृत्ति जाग्यो, मिडियाहरू बढ्न थाले । चिकित्सकहरू यस्ता घटनामा राजनीतिक दलका भ्रातृ सङ्गठन संलग्न रहेको र हिंसामा उत्रनेहरूलाई राजनीतिक संरक्षण पनि रहेको बताउँछन् । संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनले त्यहाँको अस्पतालमा हुने बिरामीको कूल मृत्युको एक तिहाइ चिकित्सकीय रोकथाम गर्न सकिने अर्थात् कुनै न कुनै चिकित्सकीय त्रुटिकै कारण हुने गरेको देखाउँछ । भारतमा प्रत्येक वर्ष ६० लाख बिरामीको मृत्यु चिकित्सकीय लापरबाही, हेलचेक्य्राइँ वा कुनै त्रुटिका कारण हुने गरेको छ । 

उपचारमा मानवीय त्रुटि हुन सक्छ । एक वार्डमा व्यस्त डाक्टरले अर्काे वार्डका बिरामीलाई हेर्न समय लाग्न सक्छ । अन्तिमावस्थामा मात्र बिरामी अस्पतालमा ल्याइएको हुन सक्छ । डाक्टर भनेका भगवान् नै होइनन् जसले छुनेबित्तिकै मर्नै लागेको व्यक्ति तुरुन्त होसमा आउने, आँखा खोल्ने, तन्दुरुस्त हुने होइन । अस्पताल वा स्वास्थ्य संस्थामा जनशक्तिको स्थिति, उपकरणको अवस्था, स्वास्थ्योपचार पद्धतिको प्रयोग र पहुँच, चिकित्सक वा स्वास्थ्यकर्मीको अध्ययन वा ज्ञान वा अनुभवको स्तर, घाइते वा बिरामीको रोगको चरण आदि अनेक आधार हुन् जसबाट मात्र रोगीको रोगोपचार भई सकुशल स्थिति वा घरमा आराम गरेर–औषधि सेवन गरेर–व्यायाम गरेर आदि तरिकाबाट पुनः पहिलेकै स्थितिमा आउन सक्ने विश्वास गरी चिकित्सक–अस्पतालले घर फर्काइन्छ । यो बेग्लै कुरा हो वा अपवादका घटना हो, अस्पतालमा अब यो मान्छे बाँच्दैन भनेकामा घाटे वैद्यले निको पार्नु वा मरेको भनिएको मान्छे चितामा सल्बलाउन थाल्नु वा क्यान्सर जस्तो रोग बिसेक भएर बिरामी लामो समय बाँच्नु । आफ्नो पढाइको ज्ञान प्रयोग गर्दा सबै सफल हुँदैनन् र त खप्तड बाबा जस्ता पूर्वचिकित्सक दिव्यज्ञान प्राप्त गर्न हिमालतिर ध्यान, तपस्या गर्न जान्छन् । 

मुलुकमा शिक्षा क्षेत्रजस्तै स्वास्थ्योपचारमा पनि व्यापारीकरण अति नै बढेको छ । सामान्य रोग जाँच र उपचारमा पनि बेसी रकम असुल्ने, बढीभन्दा बढी जाँच गर्न लगाउने, सरकारी चिकित्सक आफ्नो अस्पतालभन्दा निजी क्लिनिक र स्वास्थ्य संस्था धाउने, मर्नै लागेको बिरामीलाई उपचार गर्ने बहानामा धेरै दिन राखेर वार्ड र उपचारको पैसा असुल्ने, नर्स आदिले एकको नवजात शिशु अर्कालाई दिने आपराधिक प्रवृत्ति जस्ता अनेक दुष्कृति यस क्षेत्रमा छ । नक्कली सर्टिफिकेटबाट डाक्टर बन्नेहरूको ठूलो सञ्जालले पनि यस क्षेत्रलाई अविश्वासरहित बनाइदिएको छ । बिरामीका आफन्तलाई क्षतिपूर्तिका नाममा रकम दिइहाल्ने र तिनलाई उचालेर प्राप्त रकमको अंश आफूले लिने कुनै समूहको प्रवृत्ति त झन् खतरनाक छ । 

समाजवादोन्मुख भनिएको देशमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विस्तारै समाजवादीकरण गरिनुपर्नेमा झन् झन् महँगो भई गरिबका छोराछोरीले पढ्न नपाउने र विपन्नले औषधि, अस्पताल र डाक्टरको समेत मुख देख्न नपाई ज्यान गुमाउनुपर्ने स्थिति छ । जनताले जनप्रतिनिधिलाई मतदान गर्ने तर सरकारले तिनको स्वास्थ्यमा फिटिक्क ध्यान नदिने पनि समाजवादी सरकार हुन्छ ? रोग भन्ने कुरा त आफैँले जानीबुझी निम्त्याएको होइन नि ! पैसा हुनेले मात्र बाँच्न पाउने नियम हो भने रोगीहरूलाई संसारबाट बिदा दिए भइगयो नि त ! विपन्नलाई असाध्य रोग लाग्नेबित्तिकै परमधाम जानुपर्ने स्थिति सरकार–राज्यले टुलुटुलु हेरिरहन सुहाउँछ ? कोरोना महामारीका बेला सर्वसाधारण जनताले अक्सिजन नपाएर बिदा हुनुपरेको घटना साक्षी छ । नेता–सरकारका पदाधिकारीले मात्र विदेशका महँगो उपचार पद्धतिबाट बाँच्न पाउने नियम तोडिनैपर्छ । अनि अहिले डाक्टर कुटिने यस देशीय रोगलाई सदा अन्त्य गर्नका लागि जनजागरण आदिबाट स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित, हिंसारहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न राज्य, निजी सङ्घसंस्था तथा बिरामीका आफन्त संयुक्त रूपमा लाग्नुपर्छ ।
 

टिप्पणीहरू