पीडामाथि पीडा बल्झाउने परराष्ट्रको ‘त्यो’ संवेदनाहीन विज्ञप्ति

पीडामाथि पीडा बल्झाउने परराष्ट्रको ‘त्यो’ संवेदनाहीन विज्ञप्ति

इजरायल–प्यालेष्टाइन युद्धको चपेटामा परी जीवन मरणको दोसाँधमा रहेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै उताबाट नेपाल सरकारलाई भिडिओ सन्देश र पत्र लेखिरहेका छन् । नेपाल फर्किने वातावरण बनाइदिन तारन्तार आग्रह भइरहेको छ । काश्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई हाल इजरायलमा फसेका विद्यार्थी सुरज भण्डारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रहसहित भावुक सन्देश पठाए । ‘अबको हाम्रो आशा पनि तपाईंं नै हो, भरोसा पनि तपाईंं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन ।

हामीलाई देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमै रमाउनेछौं,’ उनको सन्देशमा भनिएको छ । सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको ‘सास रोकिएको’ भन्ने शब्द सन्देशले जो–कसैको हृदय पोल्छ । इजरायलबाट विद्यार्थीले तत्काल उद्धार गरिदिन आग्रह गरिरहेका छन् । हमासको निसानामा परी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको ज्यान गएको पुष्टि भइसकेको छ । केही घाइते भएका छन् । इजरायलमा खासगरी अध्ययनका लागि पुगेका विद्यार्थी युद्धको चपेटामा छन् । दुर्भाग्य, यता दश जना नेपाली नागरिकको बिदेशी भूमिमा हत्या हुँदासमेत सरकार एउटा सामान्य शिष्टाचारसमेत देखाउन सक्दैन ।

परराष्ट्र मन्त्रालयले आइतबार पहिलोपल्ट जारी गरेको ‘प्रेस विज्ञप्ति’ बाट यो हदको लाचारी देखिएको छ । मुलुक अत्यन्त शोकमा परेका बेला इजरायल घटनाबारे जानकारी दिन भनेर जारी भएको विज्ञप्तिमा घटनालाई हल्काफुल्का ढंगले लिएको प्रतीत हुन्छ । त्यो प्रेस विज्ञप्तिमा परराष्ट्रले नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारीअनुसार इजरायलको गाजासँगको सीमालगायत क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेको भन्ने छ । शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको पनि जनाइएको छ । द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको भनिएको छ। तर यति दुःखद घटनालाई लिएर प्रेस नोटमा कतै मृतक विद्यार्थीका लागि दुई शब्द श्रद्धाञ्जली, परिवारका लागि सहानुभूति र घाइतेप्रति स्वास्थ्यलाभको कामनासम्म भेटिँदैन ।

परराष्ट्रले औपचारिकता निभाउने शैलीमा लेखेको छ, ‘सरकारले आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै, सरकारले हमलामा अमूल्य जीवन गुमेकोमा तथा धेरै मानिस घाइते भएकोमा दुःख व्यक्त गरेको छ ।’ यो विज्ञप्तिमा नेपाल सरकारको कुनै जिम्मेवारी र जवाफदेहिता पनि झल्कँदैन । विज्ञप्तिको भाषा हेर्दा यस्तो लाग्छ, मानौँ आफ्नो ज्यान जोगाउने जिम्मा आफ्नै हो । परराष्ट्रले झारा टार्न खोजेको आभाष जो–कसैलाई दिलाउँछ । कतै सान्त्वनाका दुई शब्द पाइँदैन ।

परराष्ट्रले गोश्वारा ढंगले भनेको छ, ‘इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सम्पर्क विवरण उपलब्ध गराइएकाले उहाँहरूमार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनुहुन अनुरोध छ । यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’

टिप्पणीहरू