त्यो पाङ्लोङ्ग,यो बागमती

त्यो पाङ्लोङ्ग,यो बागमती
सुन्नुहोस्

-खुम्निङ्गबाट नमस्कार शाह

विकसित राष्ट्र चीनको दक्षिणी प्रान्त युन्नानको खुनमिङ शहरमा रहेको पाङ्लोङ्ग नदी पर्यटकीय गन्तव्य हो । पाङ्लोङ्गले काठमाडौंको बागमती नदीको झल्को दिन्छ । फरक यत्ति हो कि– पाङ्लोङ्ग सफा,मनमोहक छ,बागमती दूषित । 

९० लाख बढी जनसंख्या रहेको खुन्मिङ्गस्थित पाङ्लोङ्ग नदी हेर्न विश्वका विभिन्न कुनाबाट पर्यटक पुग्ने गर्दछन् । यो नदी शहरको बीचबाट बगिरहेको छ । चीनको दक्षिण–पश्चिममा रहेको यो नदीलाई स्थानीयले खुन्मिङकी आमा भन्ने गर्दछन् । 

बढ्दो शहरिकरण र जनसंख्याका कारण पाङ्लोङ्ग नदी दुर्गन्धित हुँदै गएको थियो । कुनै बेला सो नदी निकै नै फोहोर थियो । सो नदीलाई सफा बनाउन स्थानीय नगर सरकारले महत्वपूर्ण भूमिका खेल्यो । अहिले नदी सफा मात्र होइन, आकर्षक र मनमोहक देखिन्छ । 

स्थानीय नगर सरकारले गरेको प्रयास सफल बनेको छ । पाङ्लोङ्ग,उहुआ र गुआन्डु जिल्ला हुँदै उत्तरबाट दक्षिणतिर अघि बढेको यो नदी युन्नानकै विशाल तालमध्ये एक ‘दियान्ची’ मा गएर मिसिन्छ । पश्चिमको लियाङ्गवाङ्ग पर्वतमा मुहान रहेको यो नदी अजिइङ्ग र लायन पर्वत श्रृङ्खला हुँदै खुन्मिङ शहरको बीचबाट बहन्छ ।

हजारौं जनजीवनसँग जोडिएको यो नदीले प्रदुषणबाट मुक्ति पाउँदै छ । सन् १९९० को दशकमा देशकै कुरुप युन्नानको ‘दियान्ची’ ताल सफा गर्दा पाङ्लोङ्गको पनि सफाइ गरिएको थियो । नगर सरकारको नेतृत्व, स्थानीयहरुको अग्रसरतामा शुरु गरिएको सफाइ अभियानले मुर्त रुप लिँदैछ । 

सो अभियानका कारण आज पाङ्लोङ्ग पर्यटकीय गन्तव्य बनेको छ । यता, ‘दियान्ची’ पनि स्वच्छ तालमा रुपान्तरण भएको छ । अहिले यी नदीमा दिनरात नै बोटिङ्ग बस चल्ने गरेको छ । यो नदी ददिउँसोभन्दा राति आकर्षित देखिन्छ । किनकि राति विभिन्न रंगका बत्तीहरु झलमल्ल बालिन्छ । स्थानीयहरु बोटिङ्गमा आनन्दित हुन्छन् । 

नदीको पानीलाई मोटरबाट लिफ्टिङ्ग गरेर पुल माथिबाट निरन्तर झर्ने फोहोरा बनाइएको छ । त्यसकै पृष्ठभूमिमा बल्ने सप्तरङ्गी बत्तीले नदी लोभलाग्दो देखिन्छ । पर्यटकहरुले सम्झनाका लागि उक्त नदीको तस्बिर खिच्ने गर्दछन् । नदीको दुवै किनारमा संरक्षित बगैंचा छ । जहाँ थरीथरीका फूलदेखि रुखहरु छन् । 

चराचुरुङ्गीको चिरबिराहटले मन खुशी बनाइदिन्छ । सुरक्षाका लागि प्रहरी बिटहरु छन् । दुवै किनारमा गगनचुम्बी महलहरु छन् । विस्तारै बहने पाङ्लोङ्गमा राति ज्येष्ठ नागरिकहरु टहलिन आउँछन् । आ–आफ्नो समूहमा स्थानीय संस्कृति झल्किने नाचगान गर्छन् । राति अबेरसम्म नाच्नु,रमाउनु उनीहरुको दिनचर्या हो । 

नदी किनारमै खुल्ला जिमखाना छ । त्यहाँ बिहान र साँझ व्यायाम गर्नेहरुको ताँती लाग्छ । त्यस्तै, वाकका लागि व्यवस्थित पैदल मार्ग पनि बनाइएको छ । नदीको किनारमा विद्युतीय स्कुटर र साइकल कुदाउने अलग्गै लेन र पार्किङ्गको व्यवस्थापन गरिएको छ । 

प्राकृतिक मनमोहकताले भरिपूर्ण उक्त स्थान थकान मेटाउने गन्तव्य मात्र होइन,साथीभाइ भेट्ने जँक्सन पनि हो । यहाँ दिनभर नै भीड हुन्छ । नदी क्षेत्रमा निःशुल्क वाइफाईको व्यवस्था भएकाले सामाजिक सञ्जालमा रमाउन पनि यतै आउने गरिन्छ । 

नियमित प्रदर्शनीहरु पनि भइरहेको छ । ‘चाइल्ड केयर किपर’ हरुले बच्चा डुलाउन यतै ल्याउने गरेका छन् । चीनको यो नदी नेपाल सरकारका लागि पनि एउटा पाठ हुन सक्छ । बागमती, विष्णुमती र हनुमन्ते नदीको सरसफाइ थालिएको वर्षौं बितिसक्दा पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

पाङ्लोङ्गले मारेको फड्को नेपालका लागि प्रेरणा बन्न सक्छ । किन नेपालले अन्य देशका असल अभ्यासहरु अनुशरण गर्दैन्र ? एउटा नगर सरकारले फोहोर पाङ्लोङ्गलाई सफा,हराभरा बनाउन सक्छ भने सिङ्गो देशको सरकार लाग्दा पनि सफा बागमती बनाउन सकिँदैन र ? सरकारमा इच्छाशक्ति नभएकाले बागमतीले आफ्नो असली अनुहार देखाउन नपाएको स्पष्ट छ ।

टिप्पणीहरू