लमजुङमा डेंगु संक्रमित बढ्दै, कात्तिक १५ गतेसम्म सचेत रहन आग्रह

लमजुङमा डेंगु संक्रमित बढ्दै, कात्तिक १५ गतेसम्म सचेत रहन आग्रह
सुन्नुहोस्

लमजुङमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लाका आठ वटै पालिकामा डेंगु संक्रमण देखिएको छ । 

अस्ति आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको स्वास्थ्य कार्यालय, लमजुङले जनाएको छ । तीमध्ये ७० जना महिला र ६६ जना पुरुष हुन् । 

कार्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित बेसीशहर नगरपालिकामा छन् । उक्त नगरपालिकामा ३५, मध्यनेपाल नगरपालिकामा ३१ र सुन्दरबजार नगरपालिकामा ३० जना संक्रमित छन् । 

अन्य पालिकामा पनि डेंगु संकमित भेटिएका छन् । कार्यालयका प्रमुख प्रवीणकुमार खनालले कात्तिक १५ गतेसम्म डेंगुको जोखिम रहने बताए । उनले त्यतिबेलासम्म सचेत रहन स्थानीयलाई आग्रह गरेका छन् । 

डेंगु रोकथाम तथा न्यूनीकरणका लागि आफ्नो घर वरपर सरसफाइ गर्न, खाल्डाखुल्डी पुर्न, लामो बाहुला भएको लुगा लगाउन, झुल टाँगेर सुत्न आग्रह गरिएको उनले जानकारी दिए । 

नेपालमा डेंगु संक्रमण देखापरेको १९ वर्ष भएको छ । अघिल्लो वर्ष ५४ हजार ७८ जनामा डेंगु पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू