इजरायलमा रहेका नागरिकलाई जसरी पनि तत्काल ल्याउनुपर्छ : अध्यक्ष नेपाल

इजरायलमा रहेका नागरिकलाई जसरी पनि तत्काल ल्याउनुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताउनुभएको छ । 

दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्दै उहाँले घाइते तथा अलपत्र नेपालीलाई सरकारले विमान पठाएर तत्काल ल्याउनुपर्ने बताउनुभयो । ‘इजरायलको घटनाले दुःखी बनाएको छ, हामी दुःखी छौँ, सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्,’ नेपालको भनाई छ, ‘नेपाली जहाज पठाएर भए पनि आफ्ना नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् ।’ 

उहाँले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दाबी गर्नुभयो । कृषि क्षेत्रबाटै मुलुकको समृद्धि सम्भव रहेको जिकिर गर्दै देशमा रोजगारीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने उहाँको धारणा छ । ‘कुशासन हट्नुपर्छ, अनि देश अघि बढ्छ । यसका लागि समाजवादको बलियो आधार चाहिन्छ । त्यही आधार बनाउन हामी हिँडेका छौँ, ’ अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँले समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पूरा गरेर टुंगिने जानकारी दिनुभएको छ । असोज १४ गते झापाबाट सुरु भएको यात्रा असोज २९ गते सुर्खेत पुगेर टुंगिने छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष राजेन्द्र पाण्डेले समाजवादी जागरण यात्राले नयाँ ऊर्जा थपेको दाबी गर्नुभयो । अभियानमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपाल, पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतका नेताहरु सहभागी हुनुभएको छ ।

टिप्पणीहरू