सेनाका सेकेण्डम्यानको जागिर सकिँदै

सेनाका सेकेण्डम्यानको जागिर सकिँदै

भावी प्रधान सेनापति बन्न जर्नेलहरूबीच तीव्र प्रतिस्पर्धा शुरु भएको छ । लाइनमा रहेका ३ तारे र दुई तारे जर्नेलहरू विभिन्न कारणले गर्दा घर जान लागेसँगै यस्तो प्रतिस्पर्धा देखिएको हो । 

प्रभुराम शर्मा ०८१ भदौमा अवकाश हुँदैछन् भने उनीपछि रहेका सरोजप्रताप राणा पनि १ वर्षे म्याद थप्नै नपाई अर्को हप्तादेखि बिदामा बस्दैछन् । राणापछिका सीताराम खड्का समेत छिट्टै घर जान लागेकाले ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ । राणा विदामा बसेको या अवकाश भएको १३ दिनभित्र यसबारे निर्णय भएन भने मेजर जर्नेलमै ताराध्वज पनि घर जानेछन् । दसैं तिहारलगायतका बिदाको कारण क्याबिनेट बैठक बस्न कठिन हुने र यसैका लागि बैठक बस्न पनि सक्ने नसक्ने कुराले भावी सेनापतिको लाइन क्लियर गर्नेछ । 

माओवादीबाट नेपाली सेनामा सामेल भई विवादास्पद रूपमा विशेष पद सिर्जनामार्फत तीन वर्षे पदावधि थपिएका यम अधिकारीको कारण २५ बेसिंकका २ जना, २६ बेसिकका सात जना तथा २७ र २८ बेसिकका दर्जनौं काविल अफिसरहरू उमेरको हद छँदै घर जान बाध्य भएका छन् । 

यसबीच बिदाका निहुँमा इलाम जिल्लास्थित गणका प्रमुख र उनका ट्वाइसी मेजरबीच कुटाकुट भएको छ । कुटाकुटपछि मेजरले यही ८ गतेका दिन घर बिदा पाएको स्रोतको दाबी छ । मेजरले घरमा आमा र परिवार बिरामी भएको भन्दै बिदा मागेका थिए । स्रोतका अनुसार यी दुवै अधिकृत एउटै बेसिकका हुन् । दुई हप्ताअघि भएको यो घटनालाई गुपचुप राखिएको छ ।
 

टिप्पणीहरू