दक्षिणदेखि अमेरिकासम्मै उपेन्द्रको दौडाहा

दक्षिणदेखि अमेरिकासम्मै उपेन्द्रको दौडाहा

राजनीति गर्नेहरूका दुःख पनि कम्ता छैनन् । एकातिर राष्ट्रिय राजनीतिको समीकरण मिलाएर सत्तामा पुग्नुपर्ने चुनौती, अर्कोतिर शक्ति केन्द्रहरूको विश्वास जोगाउन पापड बेल्नुपर्ने बाध्यता । घरेलु र बाह्य राजनीतिबीच तालमेल मिलाउन नसके राजनीतिबाटै किनारामा पर्ने खतरा । यस्तै खतराको दोसाँधमा उभिएका पात्र हुन्, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव । 

वामपन्थी पृष्ठभूमिका उपेन्द्र राजनीतिमा उदाएको धेरै भएको छैन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि एकाएक राष्ट्रिय राजनीतिमा शक्तिशाली बनेर आएका उनी त्यसयता निरन्तर कुर्सीमा छन् । तर, पार्टी भने क्रमशः ओरालो यात्रामा छ । कुनै पनि पार्टी सानो र ठूलो हुनु मूलतः आन्तरिक राजनीतिकै उपज हुन्छ । तर, नेपाल जुन भूराजनीतिक अवस्थामा छ, त्यसले पार्ने प्रभावबाट पार्टीहरू पूर्णतः मुक्त हुने स्थिति छैन । त्यसैको चपेटामा परेका हुन्, उपेन्द्र पनि । 

भनिन्छ, कम्युनिष्ट राजनीति छाडेर क्षेत्रीय राजनीतिमा पाइला टेकेको झण्डै दुई दशक हुनलाग्दा समेत उपेन्द्र र उनको पार्टीमाथि दक्षिण र पश्चिमले पूरापूर भरोशा गरेको छैन । यसको स्वीकारोक्ति स्वयं उपेन्द्रले पनि गर्न थालेको जसपाकै नेताहरू बताउँछन् । सिके राउतसँग चुनाव हारेपछि क्रमशः असुरक्षित महसुस गर्न थालेका उनी अब भने दक्षिण र पश्चिम दुबैतिर सम्बन्ध सुधारको प्रयासमा लागेको बताइन्छ । दक्षिणले नरुचाएको मधेसी नेताको छवि बनाएका उपेन्द्रले हालै झण्डै दुई साता लामो भारत भ्रमण गर्नुको उद्देश्य त्यही थियो भनिँदै छ । 

नयाँदिल्ली, मुम्बई हुँदै दक्षिण भारतको केरलादेखि बिहारमा लालु यादवसम्मलाई भेटेर आफ्नो गलामा झुण्डिएको ‘भारतविरोधी’ ट्याग हटाउने सक्दो प्रयास गरेका उपेन्द्र अहिले अमेरिकामा छन् । औपचारिक रूपमा त्यहाँ रहेका तराईवासी नेपालीहरूको कार्यक्रमका लागि भनेर निम्त्याइएका उनले राजधानी वासिङटन डिसी पुगेर विभिन्न कूटनीतिक भेटघाट पनि गर्ने तयारी छ । प्रतिस्पर्धी सिके राउत अमेरिका भ्रमणमा रहेकै बेला उपेन्द्र पनि त्यतै पुग्नुलाई यसै पनि अर्थपूर्ण मानिएको छ । 

आखिर उपेन्द्रलाई भारत र पश्चिमाहरूले विश्वास नगर्नुको कारण के हो त ? जानकारहरू भन्छन्, कम्युनिष्ट काखबाट बाहिर निस्कन नसकेको बुझाईले उनीप्रति फरक धारणा बनिरहेको छ दुवै शक्ति केन्द्रको । त्यसमा उपेन्द्रको व्यवहारले भन्दा पनि मधेसको राजनीतिले प्रभाव पारेको धेरैको विश्लेषण छ । किनभने मधेस आन्दोलनबाट स्थापित भएका उपेन्द्र आज पनि तराई–मधेसमा सबैभन्दा शक्तिशाली छन् । उनलाई कमजोर नबनाएसम्म आफ्नो हित नदेखेका प्रतिस्पर्धी पार्टी र नेताहरूले नै ’चिनियाँ एजेन्ट’ को ट्याग लगाइदिएपछि दक्षिण र पश्चिम भड्किएको बुझाइ जसपाका नेताहरूको छ । खासगरी महन्थ ठाकुरहरूले लैनचौरलाई गलत रिपोर्ट गरेकाले दक्षिणसँगको सम्बन्ध बिग्रिएको जसपाका एक नेताले बताए । 

उपेन्द्रको भारत र अमेरिका भ्रमण आफूमाथि छरिएका भ्रम हटाउनमा केन्द्रित रहेको जसपाका एक नेताले अनौपचारिक संवादमा खुलाए । ‘चाइनिज ट्यागबाट इण्डियाले खेदेको खेद्यै ग¥यो, सप्तरीमा त चुनाव नै हराइदियो । त्यसपछि अध्यक्षज्यूले अब यथार्थ कुरा भन्नुपर्छ भन्ने लागेर प्रयत्न थाल्नुभएको बुझेको छु’, निकै खुलस्त कुरा गरेका ती नेताले नाम नलेख्न आग्रह गरे । 

हुन पनि उपेन्द्रलाई चुनाव हराउन भारतीयले वीरगञ्जमा अड्डा नै जमाएर ठूलो धनराशि खर्च गरेको तथ्य लुकेको छैन । महावाणिज्य दूतहरूकै अगुवाइमा ‘उपेन्द्र हराऊ अभियान’ चलाइएको चुनावलगत्तै बसेको जसपाको एक बैठकमा नेताहरूले रिपोर्टिङ गरेका थिए । मतदातालाई पैसा बाँड्नेदेखि मिडिया किन्नेसम्मका काम भारतीयको प्रत्यक्ष संलग्नतामा भएको जसपाका नेताहरू आज पनि बताउने गर्छन् । कतिसम्म भने उपेन्द्रका खास भनिएका ठूला नेताहरूले समेत महावाणिज्य दूतावासबाट पैसा बुझेको रिपोर्ट उपेन्द्रकहाँ त्यतिबेलै पुगेको हो । 

अर्कोतिर चिनियाँ ट्याग लागे पनि प्रचण्ड र केपी ओलीको तहमा उपेन्द्रले उत्तरको विश्वास आर्जन गर्न सकेका छैनन् । उनी अहिलेसम्म चीन भ्रमणमा नजानुले पनि उत्तरले पत्याइरहेको छैन भन्ने नै बुझिन्छ । जबकि माओवादी र एमालेका ठूलादेखि साना नेता लगातार चीनतिर आउजाउ गरिरहेका छन् । त्यसो त, चीनले वामपन्थीलाई मिलाउन प्रयास गरिरहेको चर्चाका बीच समाजवादी मोर्चामा रहेका उपेन्द्रलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयासअनुरूप लामो भारत भ्रमण गराएको भन्नेहरू पनि उत्तिकै छन् । 

 

टिप्पणीहरू