चाइनिज तस्कर आउट, क्यान्सरपीडित चेलीलाई कस्टडी

सरकारी वकिलले यसरी पो फेर्दा रहेछन् स्वाद

चाइनिज तस्कर आउट, क्यान्सरपीडित चेलीलाई कस्टडी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भदौ २५ गते सरकारी वकिलको कार्यालयलाई ६० किलो सुन प्रकरणको फाइल बुझायो । ३०५ पृष्ठ मोटो प्रतिवेदनमा १० जना विदेशीसहित २९ जनालाई प्रतिवादी बनाइएको थियो । तर, भदौ ३१ गते सरकारी वकिल जनकप्रसाद घिमिरेले रहस्यमय तरिकाबाट एक जना चिनियाँ प्रतिवादीको नाम काटेर क्यान्सरपीडित नेपाली चेलीलाई प्रतिवादी बनाइदिए ।

विमानस्थल भन्सार कार्यालयबाट समातिएकी क्यान्सरपीडित रुक्मिना सुब्बालाई १३ दिनको अनुसन्धानपछि राजश्व अनुसन्धान विभागले सादा तारेखमा छाड्यो र उपचार गर्न भन्यो । त्यसबेला काठमाडौं जिल्ला अदालतका न्यायाधीशले राजश्वका कर्मचारीलाई हप्काउँदै भनेका थिए, ‘अस्पताल लैजानुपर्ने मान्छेलाई किन अदालत ल्याएको ?’ राजश्वले छानबिन गर्न नसकेर प्रहरीलाई फाइल जिम्मा लगाएपछि सिआइबीले पनि उपचारकै क्रममा घाँटी चिरिएकी र नियमित किमोथेरापी लिँदै गरेकी सुब्बालाई थुनामा राखेन, बाहिरै राखेर क्यान्सरको उपचार गर्न सुविधा दियो । अनुसन्धानका क्रममा दोषी नदेखेको र उनको आइडी अर्कैले प्रयोग गरेर सामान छुटाएको पाइएपछि सिआइबीले रुक्मिनामाथि मुद्दा चलाउन सिफारिस गरेन । तर, सरकारी वकिलको कार्यालयले भने चाइनिजको नाम काटेर रुक्मिनालाई २६ औं नम्बरको प्रतिवादी बनायो ।

सिआइबीले सरकारी वकिलको कार्यालयलाई भदौ २५ गते बुझाएको २३१ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा चिनियाँ राहदानी बाहक लुओरोङ गोङ्बुलाई २९ औं नम्बरको प्रतिवादी बनाइएको थियो । चिनियाँ नागरिक दावा छिरिङ समातिनासाथ गोङ्बु भागेका थिए । उनी अहिलेसम्म फरार छन् । उनले ठमेलको होटल भियनामा सुन पगाल्ने केमिकल राखेको र सुन तस्करलाई बिक्री गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले टोखाबाट सुन गाल्ने मेसिन बरामद गरेपछि गोङ्बु र दावाबीचको सम्बन्ध खुलेको थियो । सो अनुसन्धानका आधारमा सिआइबीले तयार पारेको अभियोगपत्रमा गोङ्बुबारे लेखिएको छ, ‘अवैध सुन पैठारी गर्ने कार्यमा निज प्रतिवादीको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आयो ।’

तर, भदौ ३१ गते सरकारी वकिलको कार्यालयले तिनै २९ औं नम्बरका प्रतिवादी गोङ्बुको नाम हटाएर उन्मुक्ति दियो भने क्यान्सरपीडित चेलीको नाम २६ औं नम्बरमा फ्याट्ट घुसाइदियो । सरकारी वकिलको काँटछाँटपछि रुक्मिनालाई भदौ ३१ मै प्रहरीले हिरासतमा लियो । सरकारी वकिल कार्यालयले सिआइबीको अनुसन्धानविरुद्ध खेलो फड्को गरे पनि काठमाडौं जिल्ला अदालतले भने मानवीयता देखाएको छ– पक्राउ परेको भोलिपल्टै उसले उनीमाथि प्रारम्भिक सुनुवाइ सकाएर क्यान्सरको उपचार गराउने आदेशमार्फत । अहिलेसम्म सरकारी नियन्त्रणमै रहेकी ती चेली ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा आफ्नै खर्चमा उपचाररत छिन् ।

उनलाई कुर्न अस्पतालमै दुईजना महिला प्रहरी खटाइएको छ । तर, सरकारी वकिलले चाइनिज प्रतिवादीको नाम किन मेटाए भन्नेमा सिआइबीका अधिकारीहरू तीनछक्क परेका छन् । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा९ जना विदेशी र २० नेपालीसहित २९ जनालाई प्रतिवादी बनाएर दर्ता गरेको अवैध सुन चोरी पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छ । २९ प्रतिवादीमध्ये ३ जना नेपाली फरारको सूचीमा छन् ।

चिनियाँ, भारतीय र बेल्जियम नागरिकका साथमा प्रतिवादी बनाइएका नेपालीहरूमा हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई,गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल, यादव पराजुली, सुदर्शन गौतम, रुक्मिना सुब्बा, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्दर, सरोज श्रेष्ठ छन् । बाराका भोला साह सोनार, दावाकी पत्नी रोल्पाली अमला रोका र बर्दियाका जीवन चलाउने फरार छन् ।
 

टिप्पणीहरू