प्रधानमन्त्रीले बोलाएको बैठकमा नजाने रवि लामिछानेको निधो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गर्ने भएको छ । सो पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले बैठकमा नजाने जानकारी दिए ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिको विरोधमा रास्वपाले सर्वदलीय बैठक बहिष्कार गरेको हो । 'चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दिप्रति हाम्रो गम्भीर आपत्ति छ', लामिछानेले फेसबुकमा लेखेका छन्, 'यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ ।'
लामिछानेले आन्दोलनका थप कार्यक्रमसमेत सार्वजनिक गर्ने बताएका छन् । यता, चीनबाट फर्केलगत्तै आज बिहान नेपाली कांग्रेस, नेकपा एमाले र आफ्नै पार्टीका नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले आजै संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बोलाउनु भएको छ । बैठक बिहान ११ बजे बोलाइएको बताइए पनि अहिलेसम्म शुरु भएको छैन ।
प्रधानमन्त्रीको न्युयोर्क र चीन भ्रमण, सुन तस्करी प्रकरणमा गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगलगायत समासामायिक राजनीतिका विषयमा सर्वदलीय बैठकमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू