धनगढीको सट्याकसुटुक काम, स्वस्तिकलाई आराम

धनगढीको सट्याकसुटुक काम, स्वस्तिकलाई आराम

टेकसिंह धामी

एक बिरामीको उपचारकै क्रममा मृत्यु भएको घटनाले विवादमा परेको धनगढीको स्वस्तिक अस्पताल अर्को लफडामा फसेको छ । बिना अनुमति अस्पताल संचालन गरेको तथ्य भेटिएपछि सो अस्पताल थप अप्ठेरोमा परेको हो ।   

घटनापछि भदौ २६ गते जिल्ला प्रशासन कार्यालय कैलालीसहितको टोलीले अनुगमन गर्दा अनधिकृत रुपमा अस्पताल सञ्चालनमा गरेको पाइएपछि बन्द गरिएको थियो । हिजो बुधबार दिनभर अस्पताल बन्द रह्यो ।

तर, बन्द भएको केही समयमै धनगढी उपमहानगरपालिकाले सट्याकसुटुक एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालनको अनुमति दिएको अर्को रहस्य बाहिर आएको छ । प्रशासनसहितको टोलीले अनुमति बिनै सञ्चालित भएको भन्दै बन्द गराएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको हो ।

स्रोतका अनुसार सो दिन अनुमति पत्र धनगढीस्थित नगरप्रमुख गोपाल हमाल (गोपी) को निजी होटेलबाटै दिइएको थियो । उपमहानगरको निजी अस्पतालसम्बन्धि कार्यविधिमा अस्पताल सञ्चालन गर्न चाहने निकायले अनुमतिको लागि तोकिएको निवेदन पेश गरेपछि स्वास्थ्य अनुगमन समितिले प्राप्त निवेदन उपर छलफल तथा आवश्यक अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेको अवस्थामा सञ्चालनको स्वीकृति प्रदानका लागि कार्यपालिकालाई सिफारिस गर्न सक्ने व्यवस्था छ । 

त्यसपछि कार्यपालिकाले दुई वर्षभित्र तोकिएको मापदण्ड पूरा गरेमा अस्पताल सञ्चालनको स्वीकृति प्रदान गर्न सकिने प्रकारको आशय पत्र प्रदान गर्ने ऐनमा व्यवस्था छ । तोकिएको समय सीमाभित्र यसै ऐन बमोजिम तोकिएको पूर्वाधार तयार गरी स्वीकृतिका लागि नगर कार्यपालिकामा निवेदन दिनुपर्ने हुन्छ ।   त्यसपछि  निवेदन उपर आवश्यक अनुगमन गरी तोकिएको मापदण्ड पुगेको ठहर भएमा अस्पताल सञ्चालनको अनुमति प्रदान गर्न सक्ने भनिएको छ । 

तर, उपमहानगरले भने अनुगमन नै नगरी अनुमति दिएको स्रोतको दाबी छ । स्वाश्त्य सेवा ऐन र आफ्नै कार्यविधि मिचेर उपमहानगरले स्वस्तिक अस्पताललाई संचालनको अनुमति दिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले पनि अनुगमन गरिएको/नगरिएको र किन सट्याकसुटुक अनुमति दिइएको ? भन्नेबारे बोल्न चाहेनन् । उनले सबै कुरा थाहा नभएको भन्दै हेरेर बताउने भनेपनि त्यसपछि भने फोन नै उठाउन छोडेका छन् ।  १५ शय्याको अस्पताल सञ्चालनको अनुमती पाएपछि अहिले स्वस्तिकले आफ्ना सेवाहरु निरन्तर सञ्चालन गरिरहेको छ। 

प्रशासनले अनुगमनका क्रममा बन्द गराउन भनेको अर्को अस्पताल संजिवनीलाई भने अहिलेसम्म उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छैन । स्वस्तिकभन्दा अगाडि नै निवेदन दिएको सो अस्पताल अनुमतिका लागि कुरिरहेको छ । अहिले सो अस्पताल बन्द छ भने आफूहरू अनुमतिको लागि उपमहानगर जाँदा जाँदा हैरान भैसकेको सञ्चालकहरुको गुनासो छ ।

कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ ।

टिप्पणीहरू