संविधानको विरोध गर्न भोटाहिटीमा निम्तो
गणतन्त्र फालेर राजसंस्था पुनर्स्थापना गर्ने अभियानमा रहेको राष्ट्रवादी नागरिक समाजले संविधान दिवसको विरोधमा नारा जुलुस गर्ने भएको छ ।
गणतान्त्रिक संविधान जारी भएको दिन असोज ३ लाई कालो दिन मान्दै आएको राजावादीहरुले काठमाडौँको भोटाहिटीमा भेला भएर जुलुस गर्न लागेका हुन् । दिउँसो साढे २ बजे त्यहाँ भेला भएर संविधानको विरोध गर्ने कार्यक्रममा इच्छुकलाई निम्तो गरिएको छ ।
०४७ सालको संविधान ब्युँताउने अभियानसमेत चलाइरहेको राष्ट्रवादी नागरिक समाजले 'आयातीत गणतन्त्रको संविधान २०७२ खारेज गरौँ' भनेर भोलिका लागि प्रचारप्रसार गरिरहेको छ ।
२०७२ साल असोज ३ गते संविधानसभा बनेको नयाँ संविधान जारी भएको दिनको सम्झनामा भोलि देशभर संविधान दिवस मनाइंदैछ । संविधान दिवसलाई भव्य बनाउन सरकारीस्तरबाट कार्यक्रम हुँदैछ भने सार्वजनिक बिदा पनि दिइएको छ ।
टिप्पणीहरू