भारत र क्यानडाबीच कूटनीतिक बदलाको श्रृंखला

भारत र क्यानडाबीच कूटनीतिक बदलाको श्रृंखला
सुन्नुहोस्

भारत र क्यानडाबीच कूटनीतिक विवाद चर्किएको छ । एक जना  शिख नेताको हत्या प्रकरणलाई लिएर दुई देश कूटनीतिक विवादमा आमनेसामने भएका छन् ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेपछि चर्किएको विवादमा भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई देश निकाला गरेपछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपना बढेको हो ।

क्यानडाका शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणमा संलग्न रहेको जनाउँदै भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ) का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको त्यहाँको विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् । 

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए । हिजो संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए ।

उनको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वारा नजिकै गोली हानेर हत्या गरिएको थियो । त्यसपछि क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो।

भारतीय विदेश मन्त्रालयले भने क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भन्दै अस्वीकार गरेको थियो । आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेको बदलामा भारतले पनि आज क्यानडाका एक जना कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न चेतावनी दिएको समाचार सार्वजनिक भएको छ ।
 

टिप्पणीहरू