बिरामीलाई भिटामिन सिफरिस गर्ने अधिकार डाक्टरको : चिकित्सक संघ

बिरामीलाई भिटामिन सिफरिस गर्ने अधिकार डाक्टरको : चिकित्सक संघ

नेपाल चिकित्सक संघले विभिन्न सञ्चार माध्यममा फुड सप्लिमेन्ट, न्यूट्रास्यूटिकल्स, डायटरी सप्लीमेन्टहरुलाई प्रतिबन्धित औषधि भन्दै चिकित्सकहरुले सिफारिस गर्न नहुनेजस्ता सूचना सम्प्रेषण गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज विज्ञप्ति जारी गर्दै संघले चिकित्सकहरुले खाद्य ऐन, २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका औषधिहरु बिरामीको रोग, उमेर र आवश्यकताअनुसार सिफारिस गरेको भन्दै स्पष्ट पारेको छ । 

संघले कुनै पनि रोगको उपचारका क्रममा बिरामीलाई आवश्यकताअनुसार औषधि सिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको उल्लेख गर्दै बिरामीको स्वास्थ्य उपचारमा सहयोगी सावित हुनेगरी अन्तर्राष्ट्रिय मान्यताअनुरुप औषधिहरु सिफारिस गर्दै आएको उल्लेख गरेको छ ।

साथै, ऐन कानून विपरीत कुनै पनि संघ संस्थाको नाममा फुड सप्लीमेन्ट, न्यूट्रास्यूटिकल्स, डायटरी सप्लीमेन्ट सिफारिस नगर्न चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवालाबाहेकका निकायलाई नभएको जानकारी गराउँदै संघले त्यस प्रकारका अस्वाभाविक र गैरकानूनी गतिविधिबाट चिकित्सकहरु भ्रममा नपर्न सचेत गराएको छ ।

टिप्पणीहरू