सैनिकहरू दिनदिनै सुइँकुच्चा

सैनिकहरू दिनदिनै सुइँकुच्चा

सैनिकहरू भाग्ने लहर चलेको छ । महिनामै दर्जनभन्दा बढी सैनिक भगौडामा पर्ने गरेका छन् । गत साउनदेखि विभिन्न मितिमा फरार रहेका सैनिकहरूको छ्याप्छ्याप्ती खोजी चलिरहेको छ । बेपत्ता हुनेमा सिपाहीदेखि सरसफाइकर्मीसम्म छन् । अधिकांश घरबिदामा निस्किएका सैनिक त्यसरी बेपत्ता भएका हुन् ।

तालिम सकिएपछि बिदामा छाडिएका सिपाही सुमित थापामगर सम्पर्कविहीन छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित बानियाँ गाउँ बस्ने जयराम थापामगरका नाति एवं सुदर्शन थापामगरका छोरा उनी श्री गरुडदल गणमा सञ्चालित बिल्लादार ग्रेड–३ मा तालिमरत थिए । साउन ३१ गते हाजिर हुनुपर्ने उनको भदौ १ गतेसम्म कुनै जानकारी नपाएपछि प्रहरीलाई खोज्दैको हैरानी छ । 

चार दिन घरबिदा मागेर साउन २८ गते ब्यारेकबाट निस्किएका प्राविधिक हुद्दा मंगलबहादुर थिङ पनि हालसम्म पनि हाजिर हुन नआएको बुझिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने उनी ३१ गते हाजिर हुनुपर्ने थियो । 

ई.एम.ई पोलिटेक्निक महाविद्यालयमा अध्ययनरत प्राविधिक अमल्दार सन्दिप खड्का पनि भागेका तर दोलखाको साविकको लापिलाङ गाविस–१, पोखरेगाउँस्थित घर नपुगेको बुझिएको छ । ‘जेनेरलाइज्ड एन्जाइटी डिस्अर्डर’ को समस्या देखिएपछि उपचारको लागि वीरेन्द्र अस्पताल पठाइएको सैनिक निशान्त अधिकारी भदौ ३ गतेबाट सञ्चालन भइरहेको सि.सं. १४ सैन्य आधार तालिमका लागि छनौट भई सैन्य लाइनको बाथरुममा लडेका थिए ।

तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएका उनको देब्रे हातमा ‘रेडियस फ्रयाक्चर’ को समस्या देखिएपछि वीरेन्द्र अस्पतालमा साउन २७ गते हाजिर भएको र पुनः डिस्अर्डरको समस्या देखिएकाले गत साउन ३१ देखि साईक्याट्रिक वार्डको बेड नम्बर १०५५ मा उपचाररत थिए । भदौ १ गते उनी कसैलाई सुइँको नदिईकन फरार भएका छन् । दैलेखको नारायण नगरपालिका–५ का दलबहादुर राना घरायसी समस्या देखाई साउन १४ गतेदेखि बिदामा बसेका थिए । 

उनले भदौ १ गते थप दुई दिन छुट्टी मागेका थिए । सोहीअनुरूप भदौ ३ गते हाजिर हुनुपर्नेमा हालसम्म पनि लापता छन् । भगवतीदल गण भर्ना केन्द्रबाट सेनाको सैन्य दर्जामा भर्ना भएका सुनिल पौडेल भने ब्यारेकको तारबार नाघेर फरार भएका छन् । कास्कीको मादी गाउँपालिका–१ का खडु पौडेलको नाति एवं गंगाधर पौडेलको छोरा उनी भदौ १ गते दिउँसो ३ बजे भागेको बुझिएको छ । ब.का.सि कुमार परियार पनि भदौ १ गते दिँउसो ४ बजे तारबार नाघेर भागेका छन् ।

अर्का भगौडा सैनिक हुन् जाजरकोटका खेमबहादुर बुढा । सरसफाइकर्मीका रूपमा कार्यरत उनी शिवालय गाउँपालिका–३ घोडाछाल बस्ने बिरबल बुढाका नाति एवं लालबहादुरका छोरा हुन् । ब्याच नम्बर ३१०८४४ भएका उनी साउन ३१ गते पेरिमिटर नाघेर भागेको बताइन्छ । 

फर्किने पनि छन् 

यसरी भाग्नेमध्ये सिपाही कर्म छिरिङ ह्याल्मो हाजिर हुन आएको बुझिएको छ । भगौडा भनी पत्राचार गरेको १७ दिनपछि उनी व्यारेकमा उपस्थित भएका हुन् । रामेछापको साविक नामाडी गाविस–९ बस्ने तेम्बा नुर्बु तामाङका नाति एवं पासाङ नोर्बु तामाङका छोरा उनी दुई दिन घरबिदामा बसेका थिए । साउन २० गते हाजिर हुनुपर्ने उनी सम्पर्कमा नआएपछि खोज्ने क्रममा भदौ ६ गते हाजिर भएको पारिवारिक स्रोतले बतायो । 

अमल्दार हरिबहादुर बिक श्री मध्य पूर्वी पृतना हेडक्वार्टरमा सञ्चालित बिल्लादार ग्रेड–२ तालिममा तालिमरत थिए । तालिम सम्पन्न भएपछि छोडिएका उनी साउन १८ गते हाजिर हुनुपर्ने थियो । तर, बीच बाटोबाटै बेपत्ता भए । १४ दिनपछि साउन ३२ गते बल्ल हाजिर हुन आएका उनी लमजुङको कामिगाउँका बासिन्दा हुन् ।

टिप्पणीहरू