कम्बोडियामा देखियो ‘चीन–कम्बोडिया मित्रता वर्ष’ को रौनक

कम्बोडियामा देखियो ‘चीन–कम्बोडिया मित्रता वर्ष’ को रौनक
सुन्नुहोस्

कम्बोडियाको राजधानी न्होम्पेन्हमा चीन र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव मनाइएको छ । ‘फुल कलेक्टिभ चाइना, रंगीन युन्नान’ सांस्कृतिक आदान–प्रदानसहित कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

भदौ ११ गते साँझ स्थानीइ नदी किनारको डायमण्ड आइल्यान्ड अपेरा हाउसमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्बोडियाका लागि चीनका राजदूत वाङ वेन्तियानले दुई मुलुकबीचको सम्बन्ध विशेष र निकै लामो इतिहासमा आधारित रहेको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो ६५ वर्षमा दुवै देशले आपसी सहयोग र समर्थनको आदानप्रदान र सँगसँगै चुनौतीको सामना चीन र कम्बोडियाबीचको सम्बन्धलाई निकै फराकिलो र कसिलो बनाएको सन्दर्भ पनि उल्लेख गर्नुभयो । उहाँको निचोड छ, ‘नयाँ खालको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवजातिको साझा र सुन्दर भविष्य निर्माणका लागि दुवै मुलुक नमूना बनेका छन् ।’

कम्बोडियाका नयाँ प्रधानमन्त्री हुन मानेटको नेतृत्वमा कम्बोडियाको उन्नती र शक्तिको नयाँ दिशा र यात्रा प्रारम्भ भएको राजदूतले उल्लेख गर्नुभएको छ । आगामी दिनमा दुई मुलुकबीचको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘यसले क्षेत्रीय र विश्व शान्ति, स्थिरता र विकासमा योगदान पुर्याउने छ ।’

कम्बोडियासँग चीनको युन्नान प्रान्त जोडिएको छ । युन्नानमा विविध जनजातिहरूको बसोबास छ । उक्त प्रान्तको परिदृश्य, प्राचीन संसाधन, विविध जनजाति र प्रवल आर्थिक विकासको सम्भावना देखिन्छ । जसलाई पछिल्ला दिनमा रंगीन युन्नानको विशेषण दिन थालिएको छ ।

सांस्कृतिक कार्यक्रममा युन्नानको जनजातीय मोहयुक्त गीत, संगीत र नृत्य प्रस्तुत गरिएको थियो । कम्बोडियाका कलाकारहरुले परम्परागत कम्बोडियाली कलाकृतिहरू समेत प्रदर्शन गरेका थिए । यसबाट चीन र कम्बोडिया दुवै मुलुकको परम्परागत राष्ट्रिय संस्कृतिहरूको भव्य प्रस्तुतिको प्रस्फुटन भएको बताइन्छ ।


कम्बोडियाका उपप्रधानमन्त्री र मन्त्री परिषदका सदस्यहरुले पनि चिनियाँ राजदूतले झैँ दुई मुलुकबीचको विशिष्ट सम्बन्धको मुक्त कण्ठले प्रशंसा गरेका थिए । पछिल्ला वर्षहरुमा ’बेल्ट एन्ड रोड’ को संयुक्त पहलपछि कम्बोडियाको सडक, आर्थिक व्यापार र कनेक्टिभिटीको विकासलाई माथिल्लो उचाई पुर्याएको उनीहरुको भनाई छ । यसले दुवै मुलुकका नागरिकका लागि विकास र साझेदारीका संभावनाहरूको थप ढोका खोलिदिएको विश्वास लिइएको छ ।

झण्डै तीन हजार पाहुनाको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सँगसँगै सप्ताहव्यापी ‘जीवन्त युन्नानको नाम’ शीर्षकमा फोटो प्रदर्शनी गरिएको बताइएको छ । प्रदर्शनी न्होमपेन्ह र सिएम रियाप प्रान्तमा समेत गरिएको छ । 

यो वर्ष चीन–कम्बोडिया कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्ष हो ।  ‘चीन–कम्बोडिया मित्रता वर्ष’ नाम दिइएको यो वर्ष दुवै मुलुकले ‘बेल्ट एण्ड रोड’ प्रारम्भको १० औं वर्षगाँठ पनि मनाइरहेका छन् । कम्बोडियास्थित चिनियाँ दूतावास, कम्बोडियाको संस्कृति तथा फाइन आर्ट्स मन्त्रालय र चीनको युन्नान प्रान्तीय जनसरकारसँगै प्रान्तीय जनसरकारका सूचना कार्यालय, विदेश कार्यालयको सहयोगमा उक्त कार्यक्रमहरु सम्पन्न भएको बताइएको छ । सांस्कृतिक आदान–प्रदानको उद्देश्य चीन र कम्बोडियाबीच कायम रहेको गहिरो सांस्कृतिक आदान–प्रदान र परस्पर शिक्षालाई थप उचाईमा पुर्याएर सम्बन्धलाई कसिलो बनाउनु रहेकोमा दुवै पक्ष सहमत देखिन्छन् ।

टिप्पणीहरू