भक्तपुर घटनामा चरम लापरवाही र प्रशासनिक उदासिनता रहेको ठहर

भक्तपुर घटनामा चरम लापरवाही र प्रशासनिक उदासिनता रहेको ठहर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भक्तपुरको बाल सुधार गृहमा युसेपको लापरबाही र प्रशासनको उदासिनताका कारण एक जनाको निधन भएको र बालबालिकाहरु गृहबाट भागेको बताएको छ । 

इन्सेकले आफ्नो नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीद्वारा प्रकाशित प्रतिवेदनमा उक्त कुरा औंल्याइएको छ । इन्सेक टोलीले सुधार गृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको पनि निश्कर्ष निकालेको छ ।

ज्वरो र पिलोका कारण बिरामी परेका बस्नेतलाई समयमा नै उपयुक्त अस्पताल नलगिएकाले मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । बाल सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्न र बालमैत्री व्यवस्थापनमा जोड दिन आवश्यक रहेको समेत औंल्याइएको छ ।

‘सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न, १८ वर्षभन्दा बढी उमेर पुगेकालाई बालबालिकासँग नराख्ने व्यवस्था गर्न, बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्नु आवश्यक छ,’ प्रतिवदेनमा उल्लेख छ । 

सुधार गृहभित्रका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरिएको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासको निम्ति कुनै पहल नगरेको भन्दै भदौ ४ गते सुधार गृहका बालबालिका आन्दोलन भएका थिए । 

तर, प्रशासनले कुनै सुनुवाइ नगरेपछि बालकहरुले तोडफोड गर्दा तथा झडपमा परी नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठ जना गरी १९ जना तथा १० जना बालकसमेत घाइते भएको प्रतिवेदनमा जनाइएको छ ।  

घाइतेमध्ये रबरको गोली लागेका एक जनाको अवस्था गम्भीर छ । उनको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ । त्यस्तै, सुधार गृहबाट भागेका दुई सय २१ जना बालकमध्ये हालसम्म चार जना सम्पर्कमा नआएको प्रहरीले जानकारी गराएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू