यी हुन् ज्येष्ठ नागरिकले निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउने अस्पताल

यी हुन् ज्येष्ठ नागरिकले निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउने अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकले निःशुल्क र सहुलियतमा उपचार पाउने अस्पताल तोकिदिएको छ । ‘ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन’ बमोजिम उमेरअनुसार आर्थिक वर्ष २०८०–८१ मा ६२ वटा अस्पतालमा निःशुल्क र सहुलियतपूर्ण उपचार हुने जनाइएको छ ।

कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मेची अस्पताल, उदयपुर अस्पताल, इलाम अस्पताल, संखुवासभा अस्पताल, इनरुवा अस्पताल, ताप्लेजुङ्ग अस्पताल, धनकुटा अस्पताल, भोजपुर अस्पतालमा यो व्यवस्था लागु गरिएको छ । 

त्यस्तै, मधेशमा रहेको जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल, गौर अस्पताल, राजेन्द्रनारायण सिंह अस्पताल, सिरहा अस्पताल, महोत्तरी अस्पताल, कलैया अस्पताल, मलंगवा अस्पताल, राम–उमा स्मारक अस्पताल, बर्दिवास अस्पतालमा ज्येष्ठ नागरिकले उल्लेखित सुविधा पाउनेछन् ।  

बागमती प्रदेशका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, भरतपुर अस्पताल, हेटौंडा अस्पताल, आयुर्वेद शिक्षण अस्पताल, नरदेवी आयुर्वेदिक अस्पताल, कीर्तिपुर बर्न अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भक्तपुर अस्पताल, धादिङ अस्पताल र त्रिशुली अस्पताललाई पनि सूचीमा समावेश गरिएको छ । 

गण्डकी प्रदेशका दमौली अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, गोर्खा अस्पताल, म्याग्दी अस्पताल, लुम्बिनी प्रदेशको रोल्पा अस्पताल, भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पृथ्वीचन्द्र अस्पताल, गुलरिया अस्पताल, प्युठान अस्पताल, पाल्पा अस्पताल, राप्ती प्रादेशिक अस्पताल, तौलिहवा अस्पताल, तम्घास अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतपूर्ण उपचार गरिनेछ । 

कर्णाली प्रदेशमा रहेको दैलेख अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जाजरकोट अस्पताल, हुम्ला अस्पताल तथा सुदूरपश्चिम प्रदेशको बैतडी अस्पताल, सेती अस्पताल, डडेल्धुरा अस्पताल, दार्चुला अस्पताल, टिकापुर अस्पताल, बाजुरा अस्पताल र बझाङ्ग अस्पतालमा पनि सो व्यवस्था मिलाइएको छ । 

तोकिएका अस्पतालका सबै विभाग र वार्डबाट ज्येष्ठ नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने मन्त्रालयले जनाएको छ । अस्पतालमा पहिलोपटक सेवा लिन आउँदा बिरामीले परिचय खुल्ने प्रमाणपत्र ल्याउनुपर्नेछ भने बाहिरंग सेवा लिन आउने ज्येष्ठ नागरिकका निम्ति छुट्टै लाइनको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

कुन उमेर समूहका नागरिकलाई कति छुट ? 

मन्त्रालयका अनुसार ६०–६९ वर्षसम्मका ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउनेछन् । ७०–७९ वर्षका उमेर समूहलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट तोकिएका सेवाहरुमा ७५ प्रतिशत, ८०–८४ वर्षसम्मका नागरिकलाई तोकिएको सेवामा शतप्रतिशत छुट दिने भनिएको छ । 

त्यस्तै, ८५ वर्षभन्दा माथिका नागरिकलाई सबै स्वास्थ्य सेवा निःशुल्क दिइनेछ । अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा उपचार गराउनेलाई त्यस्तो सुविधा नदिइने अस्पतालले जनाएको छ ।

टिप्पणीहरू