हात्ती संरक्षणमा सरकारको उदासिनता !

हात्ती संरक्षणमा सरकारको उदासिनता !

गत साउन ३२ गते कञ्चनपुरमा एउटा हात्ती सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला पर्यो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीस्थित गत बिहीबार बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । 

बुधबार राति सेफ्टी ट्यांकीमा खसेको उक्त हात्तीको पछाडिको दुवै खुट्टा ट्यांकीमा फसेपछि मृत्यु भएको बताइएको छ । सो हात्ती स्थानीय वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्यांकीमा मरेको थियो । 

यसअघि गत जेठ ८ गते झापामा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित एक जना किसानको खेतमा करिब २५ वर्षको पोथी जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । 

उक्त हात्तीको विद्युतीय तारबारका कारण करेन्ट लागेर मृत्यु भएको बताइएको छ । गत चैत २१ गते चितवनको सौराहस्थित हात्तीसारमा राखिएको एउटा हात्ती सूँढ काटिएको अवस्थामा फेला पर्यो । 

राति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको उक्त हात्तीको सूँढ अज्ञात समूहले धारिलो हतियार प्रहार गरी काटिदिएको अवस्थामा भेटिएको थियो । तर, महिनौं दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्ति भने पक्राउ गर्न सकेनन् । 

हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो । हाल अस्तित्वमा रहेको जमिनमा पाइने जनावरमध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो । यो अफ्रिका र एसियामा मात्रै पाइन्छ । 

नेपालको तराईमा लाखौं वर्षदेखि हात्ती घुमफिर गर्दै आइरहेको छ । साधारणतयाः एउटा हात्तीको छावा जन्मिदा एक सय २० किलोग्राम तौल भएको हुन्छ । हात्तीको औसत आयू ५० देखि ७० वर्षसम्म हुन्छ । हात्ती बुद्धिमान जनावर समेत हो । 

नेपालमा करिब दुई सय २५ वटा हात्ती रहेको अनुमान गरिएको छ । हाम्रो मुलुकमा हात्तीको प्रयोग पर्यटन व्यवसायका लागि समेत हुँदै आएको छ । 

स्वदेशी तथा विदेशी पर्यटकहरु हातीसँग नुहाउन, हिँड्न, खाना खुवाउनेजस्ता गतिविधिमा अधिक रुची राख्छन् । जसले गर्दा पर्यटन व्यवसायमा समेत हात्तीले टेवा पुप्याएको देखिन्छ । तर, पछिल्लो समय नेपालमा हात्ती लोप हुने अवस्थामा पुगेको छ ।

बासस्थानमा प्राकृतिक प्रकोपको आक्रमण भइरहनु, खानेकुराको अभाव हुनुजस्ता कारणले अहिले हात्तीको संख्यामा कमी आइरहेको छ । हात्ती संकटापन्न अवस्थामा पुग्नुको अर्को कारण मानवीय आक्रमण पनि हो । 

हात्तीको दाह्राको अवैध खरिद बिक्री हुने गरेको छ, यसले गर्दा पनि हात्ती मारिन्छन् । अहिले हात्तीलाई छाला, हाड, मासु र अन्य अंगहरुका लागि समेत सिकार गर्न थालिएको छ । 

विश्व प्रकृति संरक्षण संघ र साइटिसले हात्तीलाई लोपोन्मुख प्रजातिको सूचीमा राखेको छ । प्रत्येक वर्ष अगष्ट १२ तारिखका दिन विश्वभर हात्ती दिवस मनाइन्छ । त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले पनि हात्तीलाई संरक्षित सूचीमा राखेको छ । 

ऐनमा गैरकानूनी तरिकाले हात्ती मार्ने, छाला खरिदबिक्री तथा ओसारपसार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ । 

तर, कडा कानूनी व्यवस्थाका बाबजुद यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण हुन सकेको छैन । नेपालको तराईमा केही वर्षयता जंगली हात्तीको आंतक बढेपछि नियन्त्रणका लागि विद्युतीय तारबारको प्रयोग गरी हात्ती मार्नेजस्ता गतिविधि समेत भइरहेको पाइएको छ । 

अधिंकाश जंगली हात्ती रातको समयमा आहार खोज्न खेतबारीतिर आउँदा विद्युतीय तारबारमा परी करेन्ट लागेर समेत मर्ने गरेका छन् । तर, यस्ता हात्तीको संरक्षणका लागि सरकारको भूमिका उदासिनो देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा विगत १७ वर्षमा (२०६६÷०६७ देखि २०७८÷०७९ सालसम्म) ५१ वटा हात्तीको मृत्यु भएको छ । 

तीमध्ये अधिंकाश हात्तीको मृत्यु विद्युतीय तारबारमा परी करेन्ट लागेर हुने गरेको पाइएको छ । विभागका सूचना अधिकारी चन्द्रशेखर चौधरी हात्ती संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको दाबी गर्छन् ।

भन्छन्, ‘हात्तीको संरक्षणका लागि हामीले विभिन्न कार्य गर्दै आइरहेका छौं । जनस्तरमा हात्तीबारे जनचेतना फैलाउने, घाइते हात्तीको उद्धार गर्नेलगायतका कार्य भइरहेको छ । तर, मानव वन्यजन्तुबीचको द्वन्द्व, प्राकृतिक स्रोतमाथिको बढ्दो मानवीय चाप, वन्यजन्तुको चोरी सिकार, अवैध व्यापारजस्ता गतिविधिका कारण चुनौती देखा परेको हो ।’

हात्ती संरक्षणका लागि मानवमा सचेतनाको अभिवृद्धि हुन अति आवश्यक रहेको उनी बताउँछन् । ‘हात्ती प्रभावित क्षेत्रमा यसलाई बिच्क्याउने, चलाउने, जिस्क्याउने, धपाउने प्रयास गरिन्छ । यस्ता क्रियाकलापले दुर्घटना निम्याउँछ । हात्ती देखिएको बेला संयमित बन्नुपर्छ । बासस्थानको संरक्षण गर्नुपर्छ र हात्ती हिँड्ने करिडोरमा मानवीय गतिविधि रोक्नुपर्छ,’ उनले थपे ।

टिप्पणीहरू