चिनियाँ वैज्ञानिक र प्राविधिक सहयोग नेपालको समग्र विकासमा कोशेढुंगा : शिक्षामन्त्री

चिनियाँ वैज्ञानिक र प्राविधिक सहयोग नेपालको समग्र विकासमा कोशेढुंगा : शिक्षामन्त्री

चीनको युन्नान प्रान्तको खुनमिङ शहरमा चौथो चीन–दक्षिण एशिया टेक्नोलोजी ट्रान्सफर र इनोभेसन सहयोग सम्मेलन भएको छ । गत बुधबारदेखि भइरहेको सातौं चीन–दक्षिण एसिया एक्सपोसँगै उक्त सम्मेलन भएको हो ।

टेक्नोलोजी ट्रान्सफर र इनोभेसन सहयोग सम्मेलनमा नेपाल, श्रीलंका, पाकिस्तानलगायत दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरुले चीनसँग कायम रहेको वैज्ञानिक र प्राविधिक सहयोगलाई सुदृढ तुल्याउने धारणा राखेका छन् । 

चीनका विज्ञान तथा प्रविधि उपमन्त्री चाङ कुवाङचुनले विश्व बौद्धिक सम्पत्ति संगठनमा चीनको उपस्थिति एक दशकअघिको ३४ औंबाट गत वर्ष ११ औंमा उक्लिएको बताए । चीन सरकारले यसतर्फ ठूलो महत्व दिएको उल्लेख गर्दै उनले भने, ‘विज्ञान र प्रविधिमा आपसी सहयोगको पालना गरेको छ.। हामी आत्मनिर्भर, विज्ञान र प्रविधिमा एकै साथ सहयोगको प्रचार गरिरहेका छौं । यसमा सहयोगको निम्ति थप खुलापन र समावेशीकरणका साथ एक पारस्परिक लाभदायक र साझा अन्तर्राष्ट्रिय रणनीतिको पनि पालना गरिरहेका छौं ।’

चीनले विश्वका १६० भन्दा बढी मुुलुक र क्षेत्रसँग वैज्ञानिक र प्राविधिक सहयोग स्थापना गरेको जानकारी दिइएको छ । ११७ देशसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भइसकेको छ भने २०० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरू र बहुपक्षीय संयन्त्रमा चीनले भाग लिएको छ । चीनको बेल्ट एण्ड रोडको कार्ययोजनामा नवीनतम वैज्ञानिक र प्राविधिक आविष्कारलाई महत्वका साथ कार्यान्वयन गरिने उल्लेख छ । यसले सबैजसो मुलुुकको साझा विकासमा ठूलो योगदान पुर्याउने मन्त्री चाङको विश्वास छ ।

कार्यक्रममा बोल्दै नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चीनको प्रयासले दक्षिण एसियाली मुलुक र चीनबीच विज्ञान र प्रविधिको क्षेत्रबीचको सम्बन्धलाई गहिरो बनाउँदै लगेको धारणा राखेका छन् । ठूलो संख्यामा नेपाली विद्यार्थी चीनमा चिकित्साशस्त्र, इञ्जिनियरिङ, सूचना प्रविधि र अन्य प्राविधिक विषयमा अध्ययन गरिरहेको उल्लेख गर्दै मन्त्री राईले भने,‘यसले दुई मुुलुकबीच शैक्षिक क्षेत्रको सम्बन्ध र अनुसन्धानलाई अझ बलियो बनाउँदै लगेको छ । पछिल्ला दिनमा दुई मुुलुकबीच रेलवे, सुरुङ, अन्तरिक्ष, कृषि, जैविक, सञ्चार र कृत्रिम जासुसीको क्षेत्रमा प्रगाढ सम्बन्ध बनेको  छ ।’

उनले नेपालले चीनबाट हुने वैज्ञानिक र प्राविधिक सहयोग, लगानीले नेपालमा नयाँ रोजगारी बढाउने र स्थानीय युवालाई थप सक्षम बनाउन योगदान पुर्याउने विश्वास दिलाएका छन् । कार्यक्रममा श्रीलंकाली प्रविधिराज्यमन्त्री, चीनका लागि पाकिस्तानी राजदूतले पनि त्यसबारे प्रकाश पारेका थिए ।

टिप्पणीहरू