गुणस्तरहीन क्युरेक्सको औषधि बिक्री वितरण रोक

गुणस्तरहीन क्युरेक्सको औषधि बिक्री वितरण रोक

नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि गुणस्तरहीन फेला परेको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गरेको ‘इन्क्लेभ बिड’ ब्याच नम्बर डीईबी–१६८ नामक एन्टिबायोटिक सिरपमा तोकिएको गुणस्तर फेला नपरेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्डअनुरुप नरहेको पाइएको हो । विभागले उक्त औषधिको बिक्रीवितरण रोकेर तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । 

‘उक्त औषधि न्यून गुणस्तर भएको पाइएकाले उक्त ओरेल सस्पेन्सन, औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

त्यस्तै, उक्त औषधिको सिफारिस, बिक्री तथा प्रयोग नगर्न–नगराउन सबैलाई सुसूचित गराइएको छ ।
 

टिप्पणीहरू