सुन र बालुवाको कथा

सुन र बालुवाको कथा

एयरपोर्टमा सुन समातियो । तर, कसको हो थाहै छैन । एउटा काइँयो मात्रै हराउँदा पनि मेरो मेरो भनेर दाबी गर्ने ठाउँ हो नेपाल । तर, अहिले सय सय किलो सुन भेटिँदा पनि कसैले दाबी गर्दैन त । यसो सोचेँ म आफैँ पो दाबी गरिदिऊँ कि ! 

प्रहरीसमक्ष गएर भनेँ, ‘सर, अस्ति समाएको सय किलो सुन जो छ, त्यो मैले ल्याएको हुँ । त्यो मेरो सुन हो ।’

‘हँ ?’, प्रहरीको हाकिमले मलाई खाइदिऊँ नै झैं गरी हेरे, ‘तपाईंको ? कसरी तपाईंको भयो ? कहाँबाट ल्याउनुभयो ?’

मैले भनेँ, ‘मैले सुन ल्याएको होइन । बालुवा ल्याएको थिएँ । त्यही बालुवा सुनमा परिढात भएको हो ।’

‘बालुवा सुनमा फेरिएको रे ? बालुवा कसरी सुन हुन्छ ?’ हाकिम कड्किए ।

मैले भनेँ, ‘तपाईंले शंखधर साख्वाःको कथा सुन्नुभएको छ ? उनले खोलाबाट ल्याएको बालुवा नै सुन भएको थियो । त्यही सुन बेचेर जनताको ऋण तिरेको हो नि !’

प्रहरीले भने, ‘त्यो सयौँ वर्ष पुरानो कथा हो । अहिले कहाँ बालुवाको सुन बन्छ ? त्यो असम्भव कुरा नगर्नोस् तपाईं ।’

मैले भनेँ, ‘अहिले विष्णुमतीबाट ल्याएको बालुवा पो सुन बन्दैन, हङकङबाट ल्याएको बालुवा त सुन बनिहाल्छ नि !’

कर्मचारी ट्वाँ । आफ्नो उत्तर सुनेर म पनि चकित । 
 

टिप्पणीहरू