पोखरीको निहुँमा गाउँपालिकामा आक्रमण : दुई कर्मचारी घाइते, एक बेपत्ता

पोखरीको निहुँमा गाउँपालिकामा आक्रमण : दुई कर्मचारी घाइते, एक बेपत्ता

-सन्तोष बराइली

सार्वजानिक पोखरीहरूको दरभाउपत्र आह्वान गर्ने क्रमा सिरहाको नवराजपुर गाउँ कार्यपालिकाका कर्मचारीहरूमाथि आक्रमण भएको छ ।  आक्रमणमा दुई कर्मचारी घाइते भएका छन् भने प्रतिरोधमा उत्रिएका एक कर्मचारी बेपत्ता छन् ।

किन भयो आक्रमण ?

नवराजपुर गाउँपालिकाका अनुसार पालिकामा ७१ वटा सार्वजनिक पोखरी छन् । ती ७१ सबै व्यक्तिले भोगचलन गर्दै आएकोमा चालू आर्थिक वर्षदेखि ठेक्का लगाउने कार्यपालिका बैठकको निर्णयानुसार साउन १ गते स्थानीय दैनिक पत्रिकामा दरभाउपत्र आह्वान गरियो । 

१५ दिनको म्याद दिइएकोमा दरभाउपत्र खोल्ने दिन हिजो १५ गते एक जत्थाले नवराजपुरस्थित गाउँकार्यपालिकाको कार्यालय घेराउ गरेको हो । फलामको पाइप बोकेर कार्यपालिका घेराउ गर्न पुगेकाहरूले कर्मचारीमाथि एक्कासी आक्रमण गरेको बताइन्छ । आक्रमणमा गाउँपालिकाको आईटी शाखामा कार्यारत धर्मनाथ मण्डलको दाहिने हातको औँला भाँचिएको छ भने ट्रयाक्टर चालकहरू रामसागर राम, जनक यादव र सञ्जिव यादव घाइते भएका छन् । प्रत्यक्षदर्शी जिवछ प्रसाद यादव भन्छन्, ‘७० जनाजतिको जत्थाले कार्यपालिका परिसरमा बसेर ढुक्यो । धेरैजसोको हातमा फलामको पाइप थियो । उनीहरूले कार्यापालिकाको मूलगेटमा ताला लगाउन खोजे । काम गरिरहेका कर्मचारीहरुमाथि हातपात गरियो ।’

यादव गत स्थानीय तह चुनावमा वडा नम्बर ४ मा वडाध्यक्षका प्रत्यासी थिए । वडा नम्बर २ का वडाध्यक्ष शुरेसकुमार यादवका अनुसार स्थनीय शिवराज यादव र सिरहाका स्थानीयबासी नविनकुमार यादवको नेतृत्वमा आएको उक्त जत्थाले पोखरीको टेण्डर भाँड्ने नाममा गाउँपालिका प्रमुख शिवदयाल यादव उर्फ शिवा र प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहमाथि सांघातिक हमला गर्ने योजना बनाएको अर्को पक्षको आरोप छ ।

‘गाउँपालिका प्रमुख शिवा र प्रमुख प्रशासकीय साहले मालपोत कार्यालयबाट व्यक्तिहरूले भोगचलन गरिरहेका ७१ वटा पोखरी सार्वजानिक भएको प्रमाणित गराएका थिए,’ शुरेसकुमारले भने, ‘ती सबै पोखरीको टेण्डर प्रक्रिया सुरू गरेपछी गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृत उनीहरूको तारोमा परेका थिए । धेरै पटकको गोप्य योजनापछी उनीहरू आक्रमणमा उत्रिएका हुन् ।’

तर, गाउँपालिकाको काम विशेषले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत काठमाडौं गएकाले आक्रमणबाट जोगिएका थिए । 

काठमाडौंमा रहेका गाउँपालिका अध्यक्ष शिवाका अनुसार पहिलेदेखि व्यक्तिले भोगचलन गरेको सार्वजानिक पोखरी एकदेखि दुई बिघासम्म क्षेत्रफलका छन् । सबै पोखरी गाउँपालिकाको सम्पत्ति हो । त्यसैले पोखरी ठेक्कामा लगाउने निर्णयमा आफूहरु पुगेको उनले बताए । 

‘कुटपिटमा उत्रँदैमा निर्णय उल्टिन्छ भनेर कसैले नसोचे हुन्छ,’ प्रमुख शिवाले भने । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नवराजपुर गाउँपालिका सभापतिसमेत रहेका शिवाको राजनीतिक पृष्ठभूमि तत्कालीन जनतान्त्रिक तराई मुक्तिमोर्चासँग समेत जोडिएको छ । 

राजनीतिशास्त्रमा स्नातक गरेका विद्रोही नेता शिवाले गत स्थानीय चुनावमा काँग्रेस नेतृ चित्रलेखा यादवका भाइ विश्वमोहन यादवलाई पराजित गरेका हुन् । अघिल्लो स्थानीय तह चुनावमा भने शिवा तीनै विश्वमोहनसँग हारेका थिए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पोखरीको टेण्डर सार्वजानिक गर्ने क्रममा नवराजपुर गाउँपालिका घेराउसँगै हात हालाहालको अवस्था सिर्जना भएको बताए । उनले भने, ‘घेराउमा संलग्नलाई गाउँपालिकका एक कर्मचारीले पनि कुटपिट गरेको पाइयो । कुटपिटमा संलग्न कर्मचारी फरार छन् । उनको खोजी जारी छ ।’

टिप्पणीहरू