भगवती पाण्डेलाई तत्काल पक्राउ नगरे सडकमा उत्रने चेतावनी

भगवती पाण्डेलाई तत्काल पक्राउ नगरे सडकमा उत्रने चेतावनी

नेपाल तामाङ घेदुङले कानूनी व्यवसायी भगवती पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । 

किटानी जाहेरी परिसकेको अवस्थामा पनि पाण्डेलाई पक्राउ गर्न आलटाल गरिएको भन्दै घेदुङले आन्दोलनको चेतावनी दिएको हो । 

‘कानून व्यवसायी भगवती पाण्डेलाई यथाशीघ्र पक्राउ गरी कानूनबमोजिम हदैसम्म सजाय गर्न हामी नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराउँदछौं,’ घेदुङले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि अझैपनि निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही नगर्ने र आलटाल गरिरहने हो भने हामी तत्काल सडक संघर्षमा जाने र त्यसबाट उत्पन्न परिस्थितिको स्वयंम राज्य व्यवस्था जिम्मेवार हुने पनि जानकारी गराउन चाहन्छौं ।’

अधिवक्ता पाण्डेले गत साउन ६ गते एक टेलिभिजन अन्तर्वार्तामा तामाङ र मगर समुदायको मानमर्दन गरेको आरोप छ । यो समुदायमा विगतदेखि चल्दै आएको दाजुबहिनीबीचको विवाह सम्बन्धबारे उनले गैरजिम्मेवारपूर्ण टिप्पणी गरेको विज्ञप्तिमा जनाइएको छ । 

पाण्डेले भैंसी र बाख्रामा पनि एकै जिनबीचको यौन संसर्गबाट जन्मिएको सन्तान राम्रो नहुने हुँदा यस्तो यौन सम्बन्धलाई बार्नुपर्ने देखिन्छ भन्दै मानिसको सम्बन्धमा खुल्ला छोड्दा अपराध सिर्जना गर्ने बताएकी थिइन् । उक्त अभिव्यक्तिले सिंगो तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुर्याएको विज्ञप्तिमा उल्लेख छ । 

पाण्डेको उक्त अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजको धार्मिक, सांस्कृतिक सहिष्णुतामाथि खलल पुगेको तथा जातीय भेदभाव तथा छुवाछुत ऐन, २०६८, मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ समेथ आकर्षिक हुन जाने देखिएको भन्दै तामाङ र मगर समुदायको राष्ट्रिय साझा संस्थाद्धय नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले गत साउन ९ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जोहरीसमेत दर्ता गराएका थिए । 

तर, जाहेरी दरखास्त दिएको एक साता बितिसक्दा पनि अभिवक्ता पाण्डे पक्राउ नपरेको भन्दै उनीहरुले सडक संघर्षमा जाने चेतावनी दिएका हुन् ।
 

टिप्पणीहरू