डेंगु महामारीकोे डर उत्तिकै

डेंगु महामारीकोे डर उत्तिकै

पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । वर्षायाम सुरु भएसँगै लामखुट्टे बढ्न थालेपछि यो वर्ष पनि डेंगुले महामारीको रुप लिने चिन्ता सर्वत्र बढेको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म विभिन्न जिल्लामा दुई हजार ९३० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, एक जनाले ज्यान गुमाएका छन् । 

सबैभन्दा बढी डेंगु संक्रमित कोशी प्रदेशमा भेटिएको छ । त्यहाँ एक हजार ७४६ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, बागमती प्रदेशमा ४६८ जना, सुदूरपश्चिम प्रदेशमा २७९ जना, गण्डकी प्रदेशमा २६९ जना, लुम्बिनी प्रदेशमा १३४ जना, कर्णाली प्रदेशमा १८ र मधेश प्रदेशमा १६ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । 

डेंगु एडिस एजिप्टाई÷एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाईबाट मात्रै लाग्ने रोग हो । यो लामखुट्टेलाई टाइगर मस्क्विटो पनि भनिन्छ । डेंगु फैलाउने यो लामखुट्टेले हाम्रो वरपर जमेको सङ्लो पानीमा फुल पार्छ । एउटा लामखुट्टेको जीवनकाल सालाखाल ३० दिनको हुन्छ । तर, एउटै लामखुट्टेले त्यो ३० दिनमा पाँच सयदेखि एक हजार वटासम्म फुल पार्ने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

यसरी संक्रमित लामखुट्टेका सबै फुल संक्रमित नै हुन्छन् । यसको फुल पानीबिना पनि महिनौंसम्म जीवित रहनसक्छ । यस्ता लामखुट्टेले सामान्यतयाः साँझ र बिहानको उज्यालोमा टोक्ने गर्छ । नेपालमा पहिलो पटक सन् २००४ मा विदेशी नागरिकमा डेंगु संक्रमण भेटिएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा देखिएको डेंगुले गत वर्ष महामारीको रुप लिएको थियो । 

गत वर्षको महामारीमा मुलुकभर ५४ हजार ७ सय ८४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । ८८ जनाले ज्यान गुमाएका थिए । तीमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । आर्थिक वर्ष २०७९÷८० मा काठमाडौंमा १४ हजार ३८८, भक्तपुरमा छ हजार १५४ र ललितपुरमा नौ हजार ६२१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । 

महाशाखाका अनुसार उपत्यकाका तीन वटै जिल्लामा पछिल्लो समय १०७ जनामा डेंगु संक्रमण भेटिएको छ । तीमध्ये काठमाडौंमा ४६, ललितपुरमा २६ र भक्तपुरमा ३५ जना हुन् । उपत्यकामा गमला, सवारी साधनका टायर, फोहोरको थुप्रोलगायतमा पानी जमेर बस्नु, पानीका ट्यांकी खुला रहनु, खाल्डाखुल्डीमा पानी जम्नु र निर्माणाधीन संरचनामा समेत पानी जम्नुले तुलनात्मक रुपमा संक्रमणको जोखिम बढी भएको चिकित्सकहरु बताउँछन् । 

डेंगु लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ, जोर्नी दुख्ने, राता बिमिराहरु देखा पर्ने गर्छ । यो एक व्यक्तिबाट अर्को मानिसमा सोझै सर्दैन । डेंगु संक्रमित लामखुट्टेको हरेक फुलबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ । त्यसले अर्को स्वस्थ व्यक्तिलाई टोकेमा उक्त व्यक्ति रोगबाट सोझै संक्रमित हुन्छ । 

यसको समयमै उपचार व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिन्छ । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल मुलुकभर डेंगु सार्ने ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको बताउँछन् । 

डेंगु संक्रमित लामखुट्टेले पारेको फुलबाट जन्मिने लामखुट्टेमा पनि संक्रमण हुने भएकाले सजग रहन आवश्यक रहेको उनको सुझाव छ । उनी भन्छन्, ‘जमेको पानीमा डेंगु संक्रमति लामखुट्टेका फुल रहन सक्ने हुँदा यस्ता ठाउँलाई सकेसम्म सुक्खा राख्नुपर्छ ।’

उनले डेंगु सार्ने लामखुट्टेबाट जोगित सावधानी नअपनाएमा जोखिम बढ्न सक्ने बताए । ‘अहिलेसम्म संक्रमित त्यति बढेका छैनन्, तर सावधानी नअपनाए यो वर्ष पनि जोखिम बढ्न सक्छ,’ उनले भने ।

टिप्पणीहरू