लम्पी स्किन प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

लम्पी स्किन प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

राष्ट्रिय किसान संगठनले गाईवस्तुमा देखिएको लम्पी स्किन संक्रमणका कारण आम किसानलाई पुग्न गएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिन माग गरेको छ । 

मुलुकभर महामारीको रुपमा फैलिएको लम्पी स्किन संक्रमणका कारण हजारौं पशुचौपाया मरेको र लाखौं संक्रमित भएको उल्लेख गर्दै संगठनले सरकारसँग क्षतिपूर्ति मागेको हो । 

पशुचौपायामा गम्भीर प्रकृतिको रोग देखिँदासमेत सरकारले बेवास्ता गरेको संगठनका अध्यक्ष डम्बरप्रसाद सिवाकोटीले आरोप लगाए । उनले लम्पी स्किन रोगको प्रकोपबाट हाल देखिएको जटिल अवस्थालाई गम्भीर रुपमा लिन सरकारसमक्ष आग्रह गरेका छन् । 

रोग नियन्त्रणका लागि आवश्यक योजना तथा कार्यक्रमसहित प्रभावकारी रुपमा सम्बद्ध निकायका संयन्त्रहरुलाई परिचालन गर्न अत्यन्त जरुरी देखिएको उनको भनाइ छ । 

‘लम्पी स्किन रोगको प्रकोपबाट हाल देखिएको जटिल अवस्थालाई गम्भीर रुपमा लिन तथा आवश्यक योजना तथा कार्यक्रमसहित रोग नियन्त्रणमा तत्काल सम्बद्ध निकायका संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न ‘राष्ट्रिय किसान संगठन, नेपाल’ सरकारसंग माग गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, सरकारले आफ्नो माग सुनुवाई नगरेमा संघर्षमा उत्रिने संगठनको चेतावनी छ । लम्पी स्किन पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लाग्ने रोग हो । तीन वर्षअघि मोरङमा देखिएको रोगको प्रभाव हाल मुलुकभर देखिएको छ । 

लम्पी स्किन रोगका कारण झण्डै ३० हजार पशु चौपाया मरिसकेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त रोग नियन्त्रणका लागि खोप अभियान शुरु गरेको छ ।
 

टिप्पणीहरू