कोरोनाकालमा काज खटाइएका कर्मचारी फिर्ता गर्दै स्वास्थ्य मन्त्रालय

कोरोनाकालमा काज खटाइएका कर्मचारी फिर्ता गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको समयमा काजमा खटाइएका कर्मचारीहरुलाई फिर्ता बोलाएको छ । कर्मचारी समायोजन ऐन, २०६५ बमोजिम संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा खटाइएका कर्मचारीहरुलाई मन्त्रालयले फिर्ता बोलाएको हो । 

महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि समायोजन गरिएका कर्मचारीलाई साउन १ गतेभित्र फिर्ता पठाउन मन्त्रालयले निर्देशन दिएको छ । आज सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्थानीय तह, आफू मातहतका निकायलाई पत्राचार गर्दै मन्त्रालयले नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायलाई सात दिनभित्र रमाना दिएर पठाउन भनेको हो । 

स्वास्थ्यकर्मी–चिकित्सक लामो समयसम्म काजमा रहँदा स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवामा असर पर्न गएको मन्त्रालयले जनाएको छ । प्रदेश तथा स्थानीय तहले उक्त पद रिक्त रहेको भनि प्रदेशस्थित लोकसेवा आयोगसंग कर्मचारीको माग गरेको पाइएको मन्त्रालयको भनाइ छ । 

‘प्रदेश तथा स्थानीय तहले उक्त दरबन्दीलाई रिक्त मानी प्रदेश लोकसेवा आयोगमा पदपूर्तिको लागि माग गरेको पाइएकोले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचारका लागि कामकाजमा खटाइएका चिकित्सक–स्वास्थ्यकर्मीहरुलाई निजहरुको दरबन्दी रहेको तह तथा निकायहरुमा काज फिर्ता गर्ने यस मन्त्रालय (मा.मन्त्रीस्तर) को मिति २०८०–०३–२५ को निर्णय कार्यान्वयनका लागि अनुरोध छ’, पत्रमा उल्लेख छ । 

त्यसैगरी, मन्त्रालयले मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भई संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको पुनः मेडिकल बोर्डबाट एक महिनाभित्र स्वास्थ्य परीक्षण गरी स्वास्थ्य अवस्था अद्यावद्यिक गराउन र उपयुक्त निकायमा कामकाजमा खटाउन निर्देश गरेको छ । फाजिलमा रहेका तथा समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकताअनुसार कामकाजमा खटाउने जनाइएको छ ।
 

टिप्पणीहरू