पाइपको पानी

पाइपको पानी

धरानमा मेयर हर्क साम्पाङले खोलाबाट पानी ल्याएर बीच बाटोमा नुहाएपछि अरु पनि धेरै मान्छेलाई त्यसरी नुहाउने रहर जागेको रहेछ । अस्ति चितवनमा पनि एक जना सांसदले खै कताबाट ल्याएको हो, पाइपको पानीले नुहाइदिए । त्यो पनि बीच बाटैमा । गर्मीको मौसम छ । पानीमा नुहाउने रहर कसलाई नहोला र ? तर, आफूले जुनजुन धारोमा गएर नुहाएको हो त्यो जम्मै धारो आफैँले ल्याइदियाहुँ भनेर प्रचार गर्नुचाहिँ अनौठो कुरा हो । त्यस्ता मान्छेलाई कम से कम पनि काठमाडौँको सुन्धारामा नुहाउन दिनु भएन । नुहाइसकेपछि यो सुन्धाराको पानी पनि मैले नै ल्याइदियाहुँ भनेर युट्युबतिर प्रचार गरिदिए भने खण्डन गर्ने कसले ?

अहिले देशमा विकास भनेकै पाइपको भएको छ । पानी ल्याउने पाइप, मेलम्ची ल्याउने पाइप, पेट्रोल ल्याउने पाइप, ढल जाने पाइप । सबै पाइप । हुँदाहुँदा अब चोरेर भाग्ने चोरलाई पनि पाइपै प्यारो लाग्न थालेको छ । काठमाडौँमा एउटा चोर पाइपभित्र पस्यो भनेर अस्ति  खुब हल्लाखल्ला भयो । चोर पाइपबाट भाग्यो तर प्रहरीले समाउन सकेन । समाउन नसक्नु कुनै ठूलो कुरा होइन । यो देशमा प्रहरीले समाउन नसक्ने भनेकै चोर, ठग, फटाहा, बलात्कारी, भ्रष्टाचारी मात्रै हो । होइन र ?
 

टिप्पणीहरू