एमालेको मोर्चा

एमालेको मोर्चा

अहिले समाजवादी पनि मोर्चा बनाएर अघि बढ्न थालेको छ । हालै मात्र समाजवादी पार्टीहरूको एउटा मोर्चा गठन भयो । मोर्चा त बन्यो तर यसमा सबैभन्दा समाजवादी पार्टी नै सहभागी भएन । डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी जो छ, बाहिरै छुट्यो । डा. बाबुराम भट्टराईलाई मानिसहरू असामाजिक प्राणी पनि भन्छन् । फलतः उहाँलाई असमाजवादी प्राणी भन्ने गर्छन् । आफू असमाजवादी भएको कारणले उहाँ समाजवादी मोर्चामा सहभागी नभएको हुनुपर्छ ।

समाजवादी मोर्चा गठन भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गर्न भ्याइहाल्नुभयो, ‘लिभिङ टुगेदरमा बसेकै थिए, अहिले त बिहे नै भएछ ।’

ओलीबाट यस्तो कटाक्ष आएपछि मैले ओलीका एक भक्तलाई भनेँ, ‘तपाईंको अध्यक्ष किन यस्तो कुरामा पनि व्यंग्य हान्नुहुन्छ ? सक्नुहुन्छ भने आफ्नो पनि एउटा मोर्चा बनाउनुस्, अनि कुरा गर्नुस् न !’
भक्तजीले भने, ‘हामीलाई मोर्चा चाहिँदैन । हामी आफैँ एउटा मोर्चा हो ।’

‘कस्तो मोर्चा ?’

उनले भने, ‘एमाले आफैँ एक विशुद्ध मोर्चा हो । यहाँ ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ आदिका आफ्नै उपपार्टी छन् । ती सबैको एउटा सिंगो मोर्चा हो हाम्रो पार्टी । त्यसैले हामीलाई अर्को मोर्चा चाहिँदैन । बुझ्नुभो नि कुरा !’
 

टिप्पणीहरू