वर्खामा झाडापखालाको डर, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

वर्खामा झाडापखालाको डर, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

अहिले गर्मी र वर्षातको मौसम छ । यो मौसममा झाडापखाला र हैजालगायतका रोग फैलिने सम्भावना उच्च हुन्छ । झाडापखाला मुख्य गरेर आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने रोग हो । यो रोग सबै उमेर समूहका व्यक्तिलाई लाग्दछ । कुपोषित, फोहोर खाना खाने तथा पानी पिउने, फोहोर वातावरणमा बस्ने, व्यक्तिगत सरसफाइमा नदिनेहरुलाई यो रोगले बढी च्याप्ने गर्दछ । 

झाडापखाला लागेर जलवियोजन भई बालबालिकाहरुको मृत्युसमेत हुन सक्छ । वर्खायाम शुरु भएसंगै विभिन्न जिल्लामा झाडापखालाका बिरामी देखिन थालेका छन् । यसलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अप्नाउन सचेत गराएको छ । 

मन्त्रालयले उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन, खानेपानीलाई सँधै सफा भाँडामा छोपेर राख्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेका, बासी, झिँगा भन्केका खानेकुरा नखान सुसूचित गराएको छ । त्यस्तै, खाना बनाउनु अघि वा पछि, शौचालय गएपछि, घर वा कार्यालय छिर्नुअघि र कुनै सामान छोएपछि मिचिमिचि साबुन पानीले हात धुन मन्त्रालयले भनेको छ । 

झाडापखाला लागेमा के गर्ने ? 

झाडापखाला लागेपछि वान्ता हुने, दिसा लागेको लाग्यै गर्ने, शरीरमा पानीको मात्रा कम हुँदै जाने र जलवियोजन हुने, धेरै तिर्खा लाग्ने, जिब्रो सुख्खा हुने, आँखा गड्नेजस्ता लक्षणहरु देखिन्छन् । पखाला शुरु हुनासाथ बढी झोल खानेकुराहरु खानुपर्छ । 

बालबालिकालाई नरम तथा सजिलैसंग पचाउन सक्ने खानेकुरा खुवाउनुपर्छ । त्यसैगरी, पुर्नजलीय झोल खुवाइरहनुपर्छ । झाडापखाला वा हैजा लागेका व्यक्तिहरुमा खतराका चिन्हहरु देखिएमा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्छ ।
 

टिप्पणीहरू