गगन र विश्वप्रकाशले गिड्गिडाउने मात्रै हो

गगन र विश्वप्रकाशले गिड्गिडाउने मात्रै हो

– मधु आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस, अभियन्ता नेपाली कांग्रेस रूपान्तरण अभियान 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य काभ्रेका पूर्व पार्टी सभापतिसमेत हुन् । उनीमाथि गत निर्वाचनमा शिव हुमागार्इंलाई अन्तर्घात गरेर एमालेका गोकुल बाँस्कोटालाई जिताउन सघाउ पुर्‍याएको आरोप लाग्दै आएको छ । कुनै समय नेपाली पत्रकारितासँग समेत जोडिएका आचार्यकी जीवनसाथी कमला पन्त राष्ट्रिय सभा सांसद हुन् । देउवाइतर खेमाका मानिने आचार्यहरूको एउटा समूह अहिले चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी हुन्न भन्दै रूपान्तरण अभियान चलाइरहेका छन् । गुरुराज घिमिरेसहितलाई अगाडि सारेर सातै प्रदेशमा बृहत् भेला र अन्तरक्रिया भइसकेको छ । यो अभियानमा डा. गोविन्द पोखरेल, देवराज चालिसे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, सुवास पोखरेलदेखि मधुहरू पनि होमिएका छन् । 

– हरि गजुरेल

कांग्रेस रूपान्तरण अभियान केका लागि हो ? 

– नेपाली कांग्रेसकै अगुवाइमा ००७ सालको क्रान्ति भयो । त्यसयता हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व पनि ग¥यो । तर, अब यतिले मात्रै पुग्दैन । हामीले राजनीतिक रूपान्तरण त गर्‍याैँ, संविधान लेखनको माध्यमबाट तर आर्थिक–सामाजिक, सांस्कृतिक रूपान्तरण हुन सकेन । कांग्रेस पार्टीले आफ्ना नीति, रणनीति, कार्यक्रम, व्यवहारमा जनतासँगको सम्बन्धमा पुनरवलोकन गर्नुपर्छ । नभए पार्टीको सान्दर्भिकता समाप्त हुने खतरा बढ्दै गएको छ । अहिले हरेक जसो राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कमजोर देखिएको छ । अब पार्टीलाई नयाँ शिराबाट लैैजानुपर्छ भन्ने हाम्रो मुख्य ध्येय हो । रूपान्तरण अभियान चलाएर मुख्य समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि उपयुक्त बाटोको विषयमा बहस संवाद गर्ने उद्देश्य हो । 

वसन्त ऋतुमा शुरु भएको कांग्रेस रूपान्तरण अभियानले रूखमा पालुवा पलाउनेभन्दा पनि झन् अन्तद्र्वन्द्वमा फस्नेजस्तो देखिँदै छ त ? 

– कांग्रेस पार्टी अब यथास्थितिमा अगाडि बढ्नै सक्दैन । अबको जिम्मेवारी पूरा गर्नका लागि ऊर्जाशील कांग्रेस चाहिन्छ । 

एकाथरी तपाईंंहरूले चलाएको अभियान गुट बलियो बनाउन मात्रै हो भन्ने आरोप लगाउँछन्, के भन्नुहुन्छ ? 

– पार्टी जति क्षतिमा पुगे पनि त्यसको केही पर्वाह नगर्ने र यथास्थितिमा रमाइरहेका साथीहरूलाई लाभको पद पाए पुगिहाल्छ नि ! हिजो विभिन्न समूह वा गुटमा खुल्नुभएका साथीहरू नै अहिले कांग्रेस रूपान्तरण अभियानसँग जोडिनुभएको छ । यो अभियान कसैका विरुद्ध लक्ष्यित छैन । सबैको चासो र चिन्ताको विषय कांग्रेसलाई बलियो बनाउने मात्र हो । 

आफूलाई लोकतन्त्रको हिमायती भन्छ कांग्रेसले तर आन्तरिक लोकतन्त्र त कमजोर देखिन्छ नि !

– महाधिवेशनको झण्डै १८ महिना पूरा भइसकेको छ तर विधानलाई टेकेर पद र हैसियत साथीहरूलाई दिइएको छैन । विधानले हरेक वर्ष महासमितिको बैठक बस्नुपर्छ भन्छ । यस्तै, कम्तीमा दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नैपर्ने व्यवस्था पनि छ तर केन्द्रीय कार्यसमितिको बैठक नबसेको १० महिना भयो । महासमितिको बैठक डाकिएन अनि नीति अधिवेशन ६ महिनाभित्र गर्ने भनिएको थियो । खै त विधानअनुसार पार्टी चलाइएको ? ४८ वटा विभाग छन्, हरेक विभाग ५१ सदस्यीय रहन्छन् । यी विभागले पूर्णता पाएको भए दुई हजार चार सय ४८ साथी कुनै न कुनै जिम्मेवारीमा आउँथे तर पार्टीलाई नै शिथिल बनाउने काम भएको छ । नेता र कार्यकर्ताबीचको संवाद कम हुने, जनता र कार्यकर्ताबीचको संवाद पनि पातलो हुने भएपछि पार्टी कमजोर हुँदैन ? कुन तहले कस्तो जिम्मेवारी पूरा गरेको खण्डमा पार्टी बलियो हुने हो ? यसको विषयमा उत्कट संवाद गरौं भनेर रूपान्तरण अभियान शुरु भएको छ । 

केन्द्रीय कोषाध्यक्ष पनि त मनोनयन हुन सकेको छैन नि, हैन र ?

– यिनै कारणले रूपान्तरणको आवश्यकतालाई झनै बढी औंल्यायो । सभापतिमा मै पार्टी हुँ भन्ने भावना जागृत भयो कि सायद । हिजोको जस्तो नेताहरूको आदेश/निर्देशको भरमा सबै कुरा चल्छ भन्ने भ्रमचाहिँ कम्तीमा त्यागौं । यदि, नेताहरू कमजोरी सच्याउन तयार भएनन् भने विकल्पका लागि युवा तयार छन् । 

गगन थापा र विश्वप्रकाश शर्माजस्ता दुई जना युवा महामन्त्रीले काम किन काम गर्न सकेनन् ? विधानमै अधिकार दिइएको छैन कि सभापतिकै एकोहोरो पेलानको शिकार बढी भएको ? 

– नेपाली कांग्रेसमा पदाधिकारी निर्वाचन प्रक्रियाबाट आएका भए पनि सभापति नै सर्वेसर्वा छन् । सभापतिले नचाहँदाखेरि उपसभापति, महामन्त्रीले पनि खासै तात्विक अन्तर ल्याउने गरी काम गर्न सक्नुहुन्न । गगन र विश्वप्रकाशहरूले गर्ने भनेको कराउने, प्रस्ताव गर्ने, गिड्गिडाउने मात्रै हो । अहिले जे–जति उपलब्धि भएका छन्, त्यसमा उहाँहरूको ठूलो योगदान छ । आमूल रूपान्तरणमा जाने बेला उहाँहरू पनि हामीसँगै मैदानमा हुनुपर्छ, हुनुहुन्छ भन्ने लाग्छ । 

अहिलेको यो रूपान्तरण अभियानलाई कांग्रेसकै केही नेताचाहिँ देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको विद्रोहसँग तुलना गर्दैछन् । तपाईंहरू त्यही दिशातिर केन्द्रित हो ? 

– हिजो शेरबहादुर देउवालाई सभापतिमा मत दिनेदेखि हाम्रो समूहको विरोधमा उत्रिने साथीहरू पनि यो अभियानसँग जोडिनुभएको छ । समयानुकूल नभएका कुरामा विधान परिवर्तन गर्ने विषयमा सभापति सहमत हुनुभए सबैभन्दा राम्रो । नत्रे रोगको निदान सानोतिनो औषधिबाट हुने देखिँदैन । 

तपाईंंले संकेत गर्न खोज्नुभएको ठूलो औषधि भनेको के हो ?

– तर, यी कुरालाई गम्भीरतापूर्वक लिइएन भने विशेष महाधिवेशन अन्तिम हतियार हुन सक्छ । 

तेस्रो तहका नेताहरूले विशेष महाधिवेशनका लागि भित्र–भित्रै हस्ताक्षर अभियान चलाइरहनुभएको छ भन्ने आरोप छ । वास्तविकता के हो ? 

– सभापति लचिलो भइदिएको खण्डमा अरू परिस्थितिको आवश्यकता नै परेन । 

वर्तमान सत्ता गठबन्धनको कामकाजलाई कसरी हेरिरहनुभएको छ ? 

– यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, फोरजी, वाइडवडीलगायत विषयको छानबिन गर्न कसले रोक्यो ? एउटा विशेष समिति बनाएर छानबिन गरे हुन्न ? हाइप्रोफाइल नेता जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका अरू अपराधीमाथि छानबिन किन भएन ? यस्ता प्र्रश्न उब्जने ठाउँ दिनु हुँदैन । 

जेल गएका पूर्वमन्त्री बालकृष्ण खाँणलाई कांग्रेस किन जोगाउनतिर लाग्यो ? एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गरेझैं सामान्य कारवाही गर्न पनि सकिन्न ? 

– विधानमै कसैमाथि कुनै गम्भीर अभियोग लाग्यो र अनुसन्धानको दायरामा आउने भएको खण्डमा स्वत निलम्बन हुनेछ भनेर स्पष्टै लेखिएको छ तर जहाँ पनि स्वार्थको खेल । अबको राजनीति सुशासन र सदाचारितातर्फ नजाने हो भने हामीले नेताहरूको विरुद्ध विद्रोह गर्नुपर्ने स्थिति आउँछ । 
 

टिप्पणीहरू