मुर्रा भैंसीदेखि महाकालेश्वरसम्मको महिमा

मुर्रा भैंसीदेखि महाकालेश्वरसम्मको महिमा

– निर्मल थापा

माओवादीको उदय, प्रश्रय र शान्तिवार्तासम्म आइपुग्दा भएका १२ बुँदे सम्झौतासम्ममा भारतको भूमिका कस्तो थियो भनेर विभिन्न लेखक, पत्रकारले पुस्तक तथा रिपोर्टमा उल्लेख गरिसकेका छन् । स्वयं भारत र सरोकारवाला पात्रले पनि सम्झौता, प्रश्रय र सहयोगका सक्कल प्रति आफूसँगै राखेका होलान् । नेपालमा भूमिगत तर भारतमा निर्वाध स्वतन्त्र जीवन बाँचिरहेका माओवादी नेताहरूको दिनचर्यालाई भारत, दरबार र नेपाल प्रहरीले कसरी सुरक्षित राखेका थिए प्रष्टै छ । त्यसको सार्वजनिकीकरण आगामी दिनमा हुने नै छ । माओवादीको चीनप्रेमलाई घटाउन र भारतोन्मुख बनाउन छिमेकी देशका गुप्तचर संयन्त्र, सुरक्षा विभाग र राजनीतिक दल खुलेर लागेका छन् । त्यसैले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विशेष घटना थियो नेपाल र नेपालीका लागि । 

अचम्मको परिणाम बाहिरियो : प्रचण्ड मुर्रा राँगोको कोशेलीसहित स्वदेश फिर्ता भए । छिमेकी देशको प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री मिनाक्षी लेखी पुग्नु अपेक्षित पक्कै थिएन तर प्रचण्ड कसले रिसिभ ग¥यो भन्दा पनि सम्झौता हुने विषयका बुँदामा चिन्तित थिए । कुनै बेला भारतका प्रथम प्रधानमन्त्री नेहरू, अटलबिहारी बाजपेयी होस् वा मनमोहन सिंहजस्ता दिग्गज पनि नेपाली प्रतिनिधिमण्डलको स्वागतार्थ विमानस्थल पुग्ने गर्थे तर समयक्रमसँगै नेपाली नेताहरूले गिराएको साख समातेर, अहिलेका प्रधानमन्त्रीहरू लोकतन्त्रको नाममा जसको स्वागत पनि खान तयार देखिन्छन् ।

उज्जैनस्थित महाकालेश्वर मन्दिरमा रुद्राक्षको बोरा र गेरुवस्त्रसहित प्रकट हुनुमा होस्ट भारत अर्थात् मोदीको सल्लाह थियो वा पुष्पकमल स्वयंको रोजाइ– यसबारे भारतीय पक्षले कुनै बेला रहश्य उघार्ने नै छ । 

प्रधानमन्त्रीको स्वागतमा तेस्रो लिंगी प्रतित हुने ६–७ जना नर्तकीको प्रस्तुति रमाइलै प्रसंग हो । गान्धीको समाधिस्थल भ्रमण खासमा सम्मान हो या अपमान बुझ्न गाह्रो छ । भारतीय राजनीतिमा गान्धी सर्वप्रिय र सर्वग्राही पात्र कहिल्यै भएनन् तर बेलायती उपनिवेशकालपछि लामो समयसम्म सरकारमा रहेको भारतीय कांग्रेसका कारण उनको देवत्वकरण भएको थियो भने, सुवासचन्द्र बोस, अम्बेडकरलगायत कैयाैँ नेता गान्धीको स्वभाव र भूमिकालाई लिएर आजीवन सन्देह राख्ने व्यक्तिहरू थिए तर गान्धीको जीवनी र दर्शनको प्रचारप्रसार विश्वव्यापी रूपमा बेलायतको जोडबलमा भारतले निकै महत्वसाथ गर्ने गर्छ । जुन अहिले विवेकानन्द, सरदार बल्लभभाइ पटेल, दामोदर सावरकर, नाथुराम गोड्से आदिको देवत्वकरण भारतीय जनता पार्टीको चाहनाअनुसार भारतीय सरकारले प्रत्यक्ष अप्रत्यक्ष रूपमा गरिरहेको छ । भारतीय प्रधानमन्त्री मोदी आफैँ गान्धीपछि भारतको सर्वकालीन् ब्राण्ड बन्ने धुनमा लागेको उनको मिडिया प्रेमलाई लिएर सहजै अनुमान लाउन सकिन्छ । 

उज्जैनस्थित महाकालेश्वर मन्दिरमा रुद्राक्षको बोरा र गेरुवस्त्रसहित प्रकट हुनुमा होस्ट भारत अर्थात् मोदीको सल्लाह थियो वा पुष्पकमल स्वयंको रोजाइ– यसबारे भारतीय पक्षले कुनै बेला रहश्य उघार्ने नै छ । उनकै दलका नेतादेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत आश्चर्य मानेर सामाजिक सञ्जालमार्फत कामरेड, हामी कता जाँदैछौं ? भनेर प्रश्न यसबीच ठड्याएका छन् । माओवादीले जतिबेला सशस्त्र आन्दोलन जारी राखेको थियो त्यस कालखण्डमा देशभरिका कैयौं मन्दिरमा तोडफोड गरियो, कैयौ ब्राह्मण भएकै निहुँमा, प्रवचन दिएकै निहुँमा मारिए । त्यसै आन्दोलनका नाइके पुष्पकमल उज्जैनको मन्दिरमा घुँडा धस्न पुग्नु नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष घटना नै हो । त्यसलगत्तै संसारभरका हिन्दु र अन्य आस्थाका व्यक्तिले पूजा र सम्मान गर्ने, पशुपतिको दर्शन गर्न जानुको रहस्य पनि आउने नै छ । 

कार्यकारी प्रमुखजस्तो व्यक्तिले देशको भूभागजस्तो संवेदनशील विषयलाई हलुका रूपमा उठाउनु निकै अपमानको विषय हो । मरिचमान सिंह र ओलीको अडानसामु अन्य प्रधानमन्त्रीहरू सधैँ निरीह सावित भएका छन् । प्रचण्डको पछिल्लो भारत भ्रमणको उपलब्धि खासमा धेरै छैन । जे जति सम्झौता भयो भनियो, ती अस्पष्ट र अपूरा छन् । धेरै काम हुन बाँकी नै छ । भारत नेपालको समस्या समाधान गर्नेभन्दा पनि आफ्नो फाइदा कसरी हुन्छ भन्नेमा धेरै चनाखो देखिन्छ । 

कुनै बेला राजा महेन्द्रले पहाड र हिमालतिरका बस्तीलाई दक्षिणी भूभागतिर स्थानान्तरण गराएका थिए, त्यसको कूटनीतिक चातुर्यता भारतीयबाट आउने सम्भावित खतराको दीर्घकालीन जवाफ थियो । देशको राजनीतिमा प्रजातन्त्र आउनु सबैका लागि स्वागतयोग्य कुरा भए पनि त्यससँगै बढेका दूषित काममध्ये भारतीयलाई घुमाउरो तरिकाले दोहोरो नागरिकताको सुविधा दिने वा उनीहरूका परिवार र बिखण्डनवादीलाई सहजै सरकारमा सामेल गराउनेदेखि हिन्दी भाषामै हंगामा गर्नेहरूको प्रश्रय हो ।

सरकार चल्ने नचल्ने हावा दक्षिणतिरबाट बग्छ वा उत्तरतिरको प्रभावले गाँज्छ । अहिले त पश्चिम देश नेपालमा इसाइधर्मलाई प्रमुख धर्म बनाउने कसरतमा ठूलै रकम खर्चेर लागेका छन् । जनसँख्याको आँकडा हेर्दा नेपालमा इसाइ धर्मको अवस्था पाँचौँ छ ।

सिनेमाको पूर्ण समाप्ति आउन बाँकी नै छ । अरुद्वारा प्रकाशित, अरुद्वारा सञ्चालित नेतृत्वको विकारबारे योगी नरहरिनाथले तत्कालीन राजालाई संकेत गर्दै भनेको उक्ति अहिले सान्दर्भिक देखिन्छः आफूले छाता ओढ्न सक्ने भएपछि अरूले ओढाएको छाताको छायाँ नखानु । सामाजिक सञ्जालमा प्रचण्डको ट्रोल र विरोध यसभन्दा पहिले यस आयतनमा विरलै भएको थियो । सबको जय होस्...। 
 

टिप्पणीहरू