विनिताको जिन्दगी, लुटियो खुशी, सारा रहर बन्धकी

विनिताको जिन्दगी, लुटियो खुशी, सारा रहर बन्धकी

‘बाध्यताले उमेर हेर्दैन’, गरिब भएपछि उमेरले सानो, ठूलो भन्दैन । लमजुङको दूधपोखरी गाउँपालिका–२ बिचौरमा जन्मिएकी बिनिता दवाडीलाई घरको आर्थिक अवस्था र बाध्यताले कलिलै उमेरमा परिपक्व बनायो । सात जनाको परिवार, त्यहीमाथि बिरामी बुवाआमाको जिम्मेवारी उनी एक्लैको काँधमा छ । 

काठमाडौंको बसाइ, बुवाआमाको उपचार र भाइबहिनीको पढाइ खर्चले उनी थलिएकी छन् । सामाखुसीस्थित पासाङल्हामु शेर्पा मेमोरियल कलेजमा ‘बि.ए.’ दोस्रो वर्ष अध्ययनरत उनले पाएको दुःखको बयान गरिसाध्य छैन । लमजुङमासमेत आफ्नो घरबार केही नभएको बताउने मैह्पीस्थित एउटा कोठा भाडामा लिएर गुजारा चलाउँदै आएकी छन् । 

सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको परिवारमा जन्मिएकी उनले सानै उमेरमा ठूलो संघर्ष गर्नुपरेको छ । लामो समयदेखि मामाको घरमा बस्दै आएको बिनिताको भनाइ छ । पढाइ लेखाइ नभएका बुवाको जमिन कान्छा भाइले हडपे । त्यसपछि उनीहरू घरबारविहीन भएका हुन् । पटकपटक घर छोडिदिन आग्रह गर्दा पनि कान्छा काकाले बेवास्ता गरेपछि मामाले सहयोग गरे । 

बल्लतल्ल बस्ने बास मिलाएका उनीहरूमाथि त्यतिबेला अर्को बज्रपात आइपर्‍यो । बुवा शिथिल बिरामी भए । खेतीपाती गरेर बिहानबेलुका छाक टार्न परिवारसँग कहाँबाट पैसा हुन्छ, र ? उपचारको क्रममा घाँटीको नशा चुँडिएको र हड्डी खप्टिएको थाहा भयो । त्यसपछि ऋण काढेर उपचार गराइयो । बुवा बिरामी परेर थलिएको १० वर्ष बितिसकेको छ । 

घरको मुखिया नै कहीँ–कतै चल्न, चट्पटाउन र हिँडडुल गर्न नसक्ने भएपछि सबै जिम्मेवारी आमा लक्ष्मीको काँधमा आइपुग्यो । छोराछोरी त जसरी पनि हुर्काउँला तर श्रीमान्को औषधोपचार कसरी गर्ने भनेर चिन्तित भइन् लक्ष्मी । मेलापात गरेर जसोतसो छोराछोरी हुर्काइन्, पढाइन् । तर, श्रीमान्को औषधोपचार खर्च कहाँबाट जुटाउनु ? ज्यालादारी गरेर कमाएको दुई–चार पैसा घरखर्च चलाउन र पाँच जना छोराछोरीलाई पढाउनै अपुग हुन्थ्यो । ब्याज तिर्ने शर्तमा गाउँकै छरछिमेकबाट ऋण लिएर उपचार गरिन् । श्रीमान्को उपचारका लागि लिएको ऋण झण्डाझण्डै १५ लाख रूपैयाँ पुगिसकेको छ । सोही क्रममा जेठी छोरी जानुकाको विवाह भयो । 

बुवाआमालाई सुखसँग पाल्ने र उपचार गर्दा लागेको ऋण तिर्ने सपना बोकेर बिनिता र भाइ विजय एसएलसी सिध्याउनेबित्तिकै काठमाडौं छिरे । कोही नचिनेको अञ्जान शहरमा उनीहरूलाई गुजारा चलाउन कम्ता मुश्किल भएन । न बस्ने ठेगाना छ न खाने । कहाँ जाने र के गर्ने भन्ने नै थाहा थिएन । गाउँमा दुःख पाएर शहर पसेका उनीहरूको फर्किने बाटो पनि बन्द भइसकेको थियो । आफ्नो खुट्टामा उभिनुपर्छ भन्नेसम्म त थाहा थियो तर कसरी ? 

जहाँ पैसा नभइकन केही चल्दैन त्यस्तो शहरमा कसरी बस्ने होला भन्ने थियो । पढाइ र कामलाई संगसंगै अगाडि बढाउनुपर्ने । केही समय त मामाका छोराछोरीहरूसँग उनीहरूकै कोठामा बसे । अर्काको कोठामा सधँैभरि बसिरहने कुरा पनि भएन् । त्यसपछि बिनिताले कामको खोजी गर्न थालिन् । घरमा सहयोगीको रूपमा काम पाइन् । अनि एउटा कोठा भाडामा लिइन् । महिनाभरि दुःख गर्दासमेत १० हजार रूपैयाँ तलब आउँछ । काठमाडौंको बसाइ र १० हजारको कमाइले कसरी घरखर्च जुटाउने ? कलेज शुल्क पनि तिर्नैपर्‍यो । आमाले भाइ विजयलाई भैंसी बेचेर कक्षा १२ सम्म पढाइन् । विजयको पढाइ राम्रो भएकाले धुलिखेलमा छात्रवृत्ति कोटामा नाम निकाले । अहिले उनी त्यहाँ डाक्टरी पढिरहेका छन् । 

भाइको फिस तिर्न नपर्ने भए पनि दुई बहिनीको जिम्मेवारी त उठाउनैपर्‍यो । बहिनी बिजिना चितवनस्थित वीरेन्द्र क्याम्पसमा कानुन पढिरहेकी थिइन् । तर, खर्चले धान्न नसक्ने भएपछि व्यवस्थापनतिर झरिन् । सुस्मिता दवाडी हाल लैनचौरस्थित सरस्वती क्याम्पसमा अध्ययन गरिरहेकी छन् । दुइटी बहिनीलाई काम लगाऊँ भने कहाँ लगाउने ? भन्ने चिन्ताले पिरोलेको छ । भाइ विजय घरिघरि भन्ने गर्छन्, ‘पढ्न छाडेर विदेश जाऊँजस्तो छ ।’ त्यतिबेला बिनिताको आँखा टिलपिलाउँछ, मुटु फुट्लाजस्तो हुन्छ । गरिबका लागि यहाँ केही पनि रहेनछ भनेर सोच्छिन् । बिहान खाए बेलुका के खाऊँ भन्ने हुन्छ, उनलाई । 

गर्मीको मौसम छ, भाइ बिहानै खाना लिएर पढ्न जान्छन् । दिउँसो खाजा खानलाई गोजीमा पैसा हुँदैन । बिहान खाएकै भरमा दिनभरि पढ्नुपर्छ । बिनिताले अहिलेसम्म मोबाइल फोन बोकेकी छैनन् । अलिअलि मेलापात गरेर घरखर्च टार्दै आएकी आमा लक्ष्मी पनि गत वर्षदेखि थलिएकी छन् । भैंसी चराउन जाँदा लडेर खोलामा परेपछि गाउँका दाइहरूले दौडाउँदै चितवनस्थित अस्पताल पुर्‍याए । रिपोर्टमा ढाड भाँच्चिएको देखियो । त्यसपछि ढाडमा स्टिलको पाता राखियो । केही समय मात्र भयो, ढाडबाट पाता निकालेको । बिनिता भन्छिन्, ‘त्यहाँ पनि उपचार गर्ने पैसा नभएर सबै ऋण लियौं । ऋण चुक्ता गरौंलाभन्दा झन् थपिँदै गएको छ ।’

आमा शौचालय जाँदा फेरि पनि लडेपछि गएको हप्ता वीर अस्पताल भर्ना गरिएको बिनिताले बताइन् । दुई दिनमा ७५ हजार रूपैयाँ सकिएको र त्यहाँ पनि ऋण लिएरै उपचार गरेको उनको भनाइ छ । उपचार खर्चको अभावले गर्दा बुवालाई अस्पताल लैजान नसकिएको उनी बताउँछिन् । औषधि पनि नियमित सेवन गराउन नसकिएको भन्दै उनले दुःखेसो पोखिन् । आफ्नो जीविका कसरी चलाउने भनेर जतिबेला पनि चिन्तित हुने विनिताको परिवारलाई ऋणले सताउनुसम्म सताएको छ । महिनैपिच्छे तिर्नुपर्ने ब्याजसमेत तिर्न नसकेर ऋण झनझन् बढ्दै गएको छ । ‘ऋण नभइदिएको भए पनि हामीलाई सहज हुन्थ्यो । ऋण तिर्ने कि खाने, हामीलाई कति गाह्रो छ ! बुवाआमा पनि बिरामी हुनुहुन्छ, भाइबहिनी पढ्दै छन् । खानलाई जस्तो भए पनि खाऊँला तर ऋणले साह्रै तनाव दिएको छ’, आँखाभरि आँशु पार्दै बिनिताले भनिन् । 

ऋणका कारण बुवाआमा रातभर निदाउन नसक्ने उनको भनाइ छ । पारिवारिक अवस्था एकदमै कमजोर भएको उनले सहयोगका लागि अपिल गरेकी छिन् । ऋणले आफूलाई निकै अप्ठ्यारोमा पारेको बताउँदै उनले मनकारी हातहरूलाई एनआईसी एशिया बैंकको सामाखुशी शाखामा रहेको ०१७५७५११३३३५५००१ नम्बरको बिनिता दवाडीको खातामा सहयोग गरिदिन आग्रह गरेकी छन् ।
 

टिप्पणीहरू