कोभिड–१९ भन्दा पनि दादुरा डरलाग्दो !

कोभिड–१९ भन्दा पनि दादुरा डरलाग्दो !

पछिल्लो समय दादुराका बिरामी धमाधम देखिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाले दादुराको प्रकोप हालसम्म मुलुकका १७ जिल्लामा फैलिसकेको जानकारी दिएको छ । 

मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, सुर्खेत, कालिकोट, कैलाली, कच्चनपुर र बाजुरामा दादुराको प्रकोप फैलिएको छ । दादुरा संक्रमणबाट पछिल्लो पटक बाँकेमा एक जनाको मृत्यु भएको छ । मुलुकभर एक हजार २२ जनामा यो रोग पुष्टि भइसकेको छ ।

दादुरा मिजल्स भाइरसबाट हुने निकै संक्रामक रोग हो । यो विशेषगरी पाँच वर्ष मुनिका बालबालिकालाई हुने गर्छ । तर, पछिल्लो समय सबै उमेर समूहका व्यक्तिमासमेत देखा परेको पाइएको छ । 

दादुरा रोग कोभिड–१९ भन्दा तीव्र गतिमा फैलिने र यसबाट हुने गरेको मृत्युदर पनि उच्च देखिन्छ । यो रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदा, हाच्छ्यूँ गर्दा, खोक्दा वा श्वासप्रश्वासको माध्यमबाट अरुलाई सर्छ । 

दादुरा आउँदा छालामा रातो फोका देखिने, उच्च ज्वरो आउने, खोकी लाग्ने, आँखा रातो हुने, नाकबाट पानी बग्नेजस्ता लक्षणहरु देखा पर्छन् । त्यस्तै, झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, निमोनिया हुने, आँखामा समस्या आई अन्धोपनको समस्या हुने पनि महाशाखाले बताएको छ । 

बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार एक दादुरा संक्रमितले १८ जनालाई रोग सार्ने सम्भावना हुन्छ । यो रोग कोभिड–१९ भन्दा तीव्र गतिमा फैलिने बताउँदै उनले भने, ‘रोग लागेको पुष्टि हुनेबित्तिकै संक्रमितलाई आइसोलेशनमा राख्नुपर्छ ।’ 

उनले भने, ‘पहिलो हप्ता निकै गाह्रो हुन्छ । बिरामीलाई झोलिलो पदार्थ खुवाउने, पोषणयुक्त खानेकुरा खुवाउने र आराम गराउनुपर्छ ।’ डा. गौतमका अनुसार रोग लागेको १० दिनपछि पनि अवस्थामा सुधार नआए जटिलता बढ्छ । बिरामीमा अन्धोपन हुने, मानसिक संक्रमण हुनेजस्ता जटिल समस्या देखा परेर अन्त्यमा मृत्यु समेत हुने जोखिम हुने गरेको छ ।
दादुराको हालसम्म प्रभावकारी उपचार नरहेको बताइन्छ । यो रोग लाग्नुभन्दा २१ दिन अगाडि र रोग लागेपछिको अवस्थामा १४ दिनदेखि एक महिनापछिको समयमा खोप लगाउँदा उपयुक्त हुने उनको निष्कर्ष छ । उनका अनुसार दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई खोप लगाइएको छ । 

त्यस्तै, अति प्रभावित नौ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कच्चनपुर, बाजुरामा १६ लाख ८१ हजार ८५१ बालबालिकालाई दादुरा खोप लगाएको छ । ‘दादुरा रोगको हालसम्म प्रभावकारी उपचार छैन । तर, रोग लाग्नबाट बचाउन हामीले नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं । हालसम्म दुई लाखभन्दा बढीमा खोप लगाइसक्यौं । अझै यो अभियान जारी नै छ,’ शाखा प्रमुख डा. गौतमले भने । 

दादुरा रोगबाट बच्न र बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा पनि दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनुपर्छ । त्यसैगरी बिरामीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार भिटामिन ‘ए’ अनिवार्य रुपमा खुवाउनुपर्छ ।

त्यसैगरी, दादुरा रोग लागेको पुष्टि भएमा महामारी फैलन नदिन हाच्छिउँ गर्दा र खोक्दा नाक र मुख सफा रुमालले छोप्ने, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ । संक्रमितलाई भीडभाडमा नलैजाने र घरभित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने, संक्रमितलाई स्याहार गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने डाक्टरको सुझाव छ ।

टिप्पणीहरू