नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगराउन आयोगको आग्रह

नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगराउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित नगराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

संविधानको धारा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट वञ्चित नगरिने उल्लेख गरिएको स्मरण गराउँदै आयोगले नागरिकको सो अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगका सहसचिव एंव प्रवक्ता डा.टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा गत जेष्ठ ३० गते आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका २५ वर्षीय निरज कामतको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको पनि बताएका छन् । 

उनले कानूनी प्रावधानका बाबजुद नागरिकता प्राप्तिको लागि धर्ना, आन्दोलन एंव आत्मदाहको प्रयास गर्ने अवस्थाको सिर्जना हुनु लोकतान्त्रिक राज्यको लागि अत्यन्त दुःखदायी स्थिति भएको जनाएका छन् ।

साथै, काठमाडौँको माइतीघर मण्डलामा धर्नामा रहेकाहरुको अवस्थाबारे अनुगमनको क्रममा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकहरु धर्नामा बसेको र नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन, वैदेशिक रोजगारी, मुलुकमै रोजगारी तथा पेशा व्यवसाय गर्नबाट वञ्चित भएको पाइएको आयोगले बताएको छ । 

व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एंव व्यक्तिको पहिचानको विषयलाई संवेदनशील रुपमा लिई नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न आयोगको माग छ ।

टिप्पणीहरू