नर्भिकले थाल्यो ‘लेजर इन प्रोक्टोलोजी’

नर्भिकले थाल्यो ‘लेजर इन प्रोक्टोलोजी’

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा ‘लेजर इन प्रोक्टोलोजी’ सेवाको थालनी गरिएको छ । योसँगै पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया गरेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ । 

अस्पतालका जनरल जीआई सर्जन (ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा.प्रकाश चौधरी र डा. सञ्जय पौडेललगायतको टिमले ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवा थालेको हो । दुई दिनअघि धनगढीबाट आएर अस्पतालमा भर्ना भएका ३८ वर्षीय एक बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा. चौधरीले जानकारी दिए ।

उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहोस बनाउनुपर्दैन । ‘पहिला–पहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौं । अब भने त्यो बाध्यता हटेको छ,’ डा.चौधरीले भने, ‘नयाँ प्रविधि र डिभाइसको मद्दतले लेजरबाट एनर्जी फ्लो गरेर एनलमा हुने डल्लोको रगत सुकाउने काम गरिन्छ । लेजर डिभाइसले एनर्जी फाल्छ र त्यसले डल्लोलाई सुकाउने तथा स्रिंक गराएपछि नर्मल अवस्था बन्छ ।’

‘यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि हुँदैन । लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपर्दैन, काट्नु पर्दैन,’ उनले थपे, ‘काटेपछि दाग हुन्थ्यो । तर, लेजरबाट गर्दा दाग देखिँदैन । साथै, रगत पनि कम बग्छ ।’

लेजर प्रविधिबाट उपचार गराएको ३–४ घण्टाभित्रै बिरामी घर जानसक्ने जानकारी दिँदै डा.चौधरीले भने, ‘ओपन सर्जरीबाट गर्दा दुई दिनसम्म हस्पिटल बस्नुपथ्र्यो । यो प्रविधि कस्ट इफेक्टिभ पनि हुन्छ । तर, लेजरबाट हुने सर्जरीमा भने हस्पिटल बस्दा हुने खर्च जोगियो । यसरी सोच्दा बिरामीलाई पनि सजिलो । किनकि लेजरबाट सर्जरी गरिसकेपछि डाक्टर कहाँ फलोअपमा पनि धेरै आइरहनु पर्दैन ।’

डा. चौधरी नेपालका लागि ‘लेजर इन प्रोक्टोलोजी’ नयाँ उपचार पद्धति र प्रविधि रहेको बताउँछन् । उनले लेजर प्रोक्टोलोजीसम्बन्धी विशेष क्लिनिकल तालिम भारतबाट लिएका हुन् । मेडिकलको भाषामा गुद्धद्वार र मलाशयसँग सम्बन्धित चिकित्सा विज्ञानलाई प्रोक्टोलोजी भनिन्छ । शरीरका यी क्षेत्रमा विशेषगरी मानिसलाई पायल्स, फिसर, फिस्टुलालगायत समस्या भइरहन्छ । यस्ता स्वास्थ्य समस्याको समयमै निराकरण नभएमा ठूलै सर्जरीसम्म गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ ।

तर, अब नर्भिक अस्पतालमा लेजर प्रविधिबाट सहजै पायल्स, फिसर र फिस्टुलाको सर्जरी हुनेछ । गुद्धद्वार र मलाशयमा रगत आउने, मासुको डल्लो हुने, डल्लो बाहिर आउने र समस्या बढ्दै गएपछि मासुको डल्लो निकै क्रोनिक बन्नेलगायत समस्या हुँदा सचेत बन्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

टिप्पणीहरू