महामारीको रुप लिँदै लम्पीस्किन

महामारीको रुप लिँदै लम्पीस्किन

पछिल्लो समय लम्पीस्किन रोगले महामारीको रुप लिएको छ । पशु चौपायामा देखिएको यो रोग मुलुकभर महामारीको रुपमा फैलिएको छ । तर, प्रभावकारी उपचारको अभावका कारण यसले पशु चौपायाको ज्यानैसमेत लिने हुँदा किसान चिन्तित देखिएका छन् ।

चितवनका कृषक खगेन्द्र पहाडीले लम्पीस्किन रोगका कारण पशु चौपाया धमाधम मर्न थालेपछि आफुहरु चिन्तित भएको सुनाए । उनले हालसम्म यो रोगका कारण आफ्ना दुई वटा गाई मरिसकेको बताउँदै अन्यमा पनि संक्रमण फैलिएको जानकारी दिए । 

‘यो रोग लागेपछि पशु चौपाया शारीरिक रुपमा कमजोर हुन्छन् । नियमित रुपमा १० लिटर दुध दिने पशुले मुशिकलले दुई लिटर दिन्छन्,’ उनी भन्छन्, ‘उपचार पनि निकै महंगो छ । एउटै पशुका लागि १० देखि १५ हजार खर्च हुन्छ । तर, उपचारपछि बचाउन सकिने कुनै निश्चित छैन ।’ उनले सरकारसमक्ष क्षतिपूर्तिको व्यवस्था गरिदिन अनुरोध गरेका छन् । 

लम्पीस्किन कस्तो रोग हो ?

यो रोग गाईभैंसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, झिँगा, भुसुना, किर्नाजस्ता किराको टोकाइबाट लम्पीस्किन सर्छ । गर्मीयाममा लामखुट्टे र किर्नाजस्ता किराको संख्या बढ्ने भएकाले यसको प्रकोप थप देखिन्छ । 

नेपालमा पहिलो पटक २०७७ सालमा मोरङमा सङ्क्रमणजन्य लम्पीस्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब तीन हजार पशु चौपायामा यो रोग पुष्टि भएको बताइन्छ ।  लम्पीस्किन रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, आहारा नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु समेत हुने गर्दछ । 

पशु सेवा विभागका सूचना अधिकारी समेत रहेका वरिष्ठ पशु विज्ञ डा. चन्द्र ढकालका अनुसार लम्पीस्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट सर्छ । यो रोग भैंसीभन्दा बढी गाईमा देखिने गरेको छ । 

नेपालमा यो रोग सात वटै प्रदेशका ७१ जिल्लामा फैलिइसकेको छ । त्यस्तै, ५ लाख गाईभैंसीमा यो रोग पुष्टि हुँदा १० हजार वस्तुभाउ मरेको विभागको तथ्यांकले देखाउँछ । 

यता आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ वटा पालिकामा यो संक्रमण पुष्टि भएकोमा गत वर्ष नौ जिल्लाका १९ पालिकामा मात्र देखा परेको थियो । 
 
संक्रमित पशुको दूध सेवन योग्य छ कि छैन ?

लम्पीस्किन रोगबाट संक्रमित गाईभैंसीको दूध बिक्री वितरण नगर्न र प्रयोग नगर्न डा.ढकालको सुझाव छ । उनी भन्छन्, ‘यो रोग लागेका पशु चौपायाले दूध कम दिन्छन् । तर, संक्रमित गाईभैंसीलाई औषधी सेवन गराइने भएकाले दूध नखाएकै बेस हुन्छ ।’ औषधि सेवन गराइएका यस्ता गाईभैंसीको दूध प्रयोगबाट मानवीय स्वास्थ्यमा असर पर्न सक्ने उनको निष्कर्ष छ । 

लम्पीस्किन मान्छेमा सर्छ कि सर्दैन ?

डा. ढकालका अनुसार लम्पीस्किन रोग मान्छेमा सर्दैन । यो रोग मान्छेमा सर्ने कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित नगरेको उनले जानकारी दिए । 

रोग लागेपछि पशु चौपाया बाँच्ने सम्भावना कति ?

लम्पीस्किन रोग लागेका पशु चौपायाको अवस्थामा दुई हप्तापछि परिवर्तन आएमा यी वस्तुभाउ ठीक हुने गर्छन् । तर, दुई हप्तामा पनि वस्तुभाउको अवस्थामा सुधार नआए मर्ने सम्भावना बढी रहेको पशु चिकित्सकहरु बताउँछन् । 

उपचार

यो रोगको हालसम्म प्रभावकारी उपचार सम्भव छैन । त्यसैले, रोग लाग्न नदिनु नै उत्तम उपाय भएको डा.ढकालको भनाई छ । भन्छन्, ‘यो रोगको हालसम्म प्रभावकारी उपचार छैन । तर, रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ ।’

पशु चौपायामा लम्पीस्किन रोग लाग्नुअघि नै खोप लगाउनुपर्ने जानकारी दिँदै उनले एक पटक रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्याएर गाईभैंसीलाई फेरि नलाग्ने उनको निश्कर्ष छ । 

यो रोग देखिएका गाईभैंसीको प्राथमिक उपचारका लागि ज्वरो घटाउन पारासिटामोलको प्रयोग गर्ने, घाउ चिलाउन कम गर्न प्राविधिकको सल्लाहअनुसार उचित औषधीको प्रयोग गर्ने, आलो घाउ सफा गरी एन्टिसेप्टिक मल्हम प्रयोग गर्ने, शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुमा आइभरमेक्टिन सुई लगाउने विभागले जनाएको छ । 

रोग लागेका पशु चौपायाको हेरचाह

लम्पीस्किन रोग देख्नेबित्तिकै वस्तुभाउलाई बथानबाट छुट्याएर अलग्ग राख्नुपर्छ । त्यस्तै, ज्वरो आएको पशुलाई जोत्ने, गाडा तान्ने कामलाई नलगाई आराम गराउन र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ ।

विभागले यस्ता रोग लागेका पशु चौपायालाई पातलो कुँडो वा नरम घाँस दिने, दाना, पानी राम्ररी नखाने पशुलाई सख्खर पानी खुवाउने, पशुको वरपर किरा तथा भुसुना भगाउने स्प्रेको प्रयोग गर्ने तथा रोगी पशुलाई सामूहिक चरनमा नलैजान सुझाव दिएको छ ।

नियन्त्रणका लागि के गरिँदै छ ?

विभागका सूचना अधिकारी डा.ढकाल यो रोग नियन्त्रणमा लागि तीनवटै तहका सरकारसँग समन्वय गरी अघि बढिरहेको जनाउँछन् । उनले नमुना संकलन गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम सबै तहले मिलेर गरिरहेको जानकारी पनि दिए । 

साथै, ‘एक गाउँ, एक प्राविधिक’ अभियान समेत सञ्चालन गरिएको उनले बताए । हाल मुलुकका अधिकांश जिल्लामा यो सङ्क्रामक रोग फैलिएकाले सचेत हुन पनि उनको आग्रह छ ।

टिप्पणीहरू