आईजीलाई सराप्ने डिएसपी यसरी चोखिए

आईजीलाई सराप्ने डिएसपी यसरी चोखिए

सशस्त्र प्रहरी बल नेपालका डिएसपी दिनेशकुमार बस्नेत पटके कारवाही भोग्ने थोरै अधिकृतमध्येमा पर्छन् । उनी पछिल्लो पटक आईजिपी हुने लाइनमा रहेका एआइजी पुष्पराम केसीविरुद्धको समाचार फेसबुकमा शेयर गरेको अभियोगमा परेका थिए । तर, उक्त काण्डमा बस्नेतलाई सफाई दिइएपछि अरु अधिकृतहरूले अचम्म मानेका छन् ।

उनले रिपोर्टर्स नेपाल अनलाइनमा प्रकाशित ‘सशस्त्रका एआइजी केसीविरुद्ध अनुसन्धान शुरु’ शीर्षकको ऋषि धमलाले शेयर गरेको समाचारमा आफ्नो निजी एकाउण्टबाट दुई वर्षअघि २०७८ जेठ २८ गते कमेन्ट गरेका थिए । उक्त विषयमा उनीमाथि मुख्यालयले सोही वर्षको असोज २२ गते नसिहतको कारबाही गरेको थियो । त्यसमा चित्त नबुझी प्राविधिक छानबिनको माग गर्दै उक्त निर्णय बदर गर्न २०७८ मंसिर १३ गते पुनरावेदन हाले । 

त्यतिबेलाको कारवाहीअघि उठाइएको टिप्पणी प्रतिवेदनमा बस्नेतले अनुशासनहीन काम गरेको ठहर छ । निर्णय ठहरमा लेखिएको छ, ‘निजले २०७८ मंसिर १३ मा पेश गरेको पुनरावेदन पत्र तथा मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन गरी हेर्दा एक जिम्मेवार अधिकृतले नीति, निर्देशन उल्लंघन गरी संगठनको प्रतिष्ठामा आँच आउने अनुशासनहीन कार्य गरेको प्रष्ट देखिएकाले निजलाई नसिहत दिने निर्णय भएको ।’

उनले पुनरावेदनमा आफ्नो व्यक्तिगत फेसबुकमार्फत् गरेको कमेन्ट संगठनका वरिष्ठ अधिकृतहरूलाई लक्ष्यित नभएको निर्लज्ज जिकिर लिएका थिए । तर, पुनरावेदनको अध्ययनपछि मुख्यालयले संगठनको हितविपरीत एवं राष्ट्रसेवक कर्मचारीको छविमा आँच आउने तथा नकारात्मक प्रचार प्रसार हुने सूचना-गतिविधिलगायत विषयवस्तुमा कमेन्ट गरेर बस्नेतले फौजी मूल्य मान्यता र संगठनद्वारा गरिएको परिपत्रलाई समेत बेवास्ता गरेको ठहर लेखिदियो । 

कानुन शाखाका उपरीक्षक युवराज अर्यालले २०७८ असोज २२ गते नियमावली २०७२, परिच्छेद १३ नियम १११ को खण्ड (क) अनुसारको कसुरमा सोही नियमावलीको नियम ११० खण्ड (क) (२) बमोजिम नसिहत दिइदिए । जसलाई पछि माथिका हाकिमबाट उल्टाउने काम भयो । 

जबकि उनी यसअघि काँकडभिट्टामा दुई वर्ष ढलिमली गरेर बसेका थिए । अहिले सिन्धुलीका सडकमा ढाट तेर्साएर सवारी साधनका चालकलाई तर्साउने गरिएको रिपोर्ट आएपछि दिनदहाडै मदिराप्रेमी बस्नेतलाई हेड्क्वार्टरबाट खटिएको एसपीको टोलीले छानबिन गरेर सचेत मात्र गराई छाड्ने निर्णय गरिएको छ । एक जनाले भने, ‘सोर्सफोर्समा जे गर्दा पनि हुने र कानुनबाट बचिने भएपछि त्यस्ताको हौसला बढ्दैन ? आगामी दिनमा अरुलाई पनि उम्कने नजिर बस्दैन ? भोलिका दिनमा अरुलाई कुन हैसियतमा कारबाही गर्ने ?’
 

टिप्पणीहरू