प्रधानमन्त्रीसम्म जब खबरै पुग्दैन

प्रधानमन्त्रीसम्म जब खबरै पुग्दैन

कूटनीतिक सम्बन्ध, संवाद र विषयवस्तुको सम्प्रेषणमा नेपाल कति कच्चा छ भन्ने कुरा गत साता सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान पनि देखियो । 

कुनै पनि ठूला मुलुकसँग कूटनीतिक सम्बन्ध बनाउने र चलाउने कुरामा हामीभित्र अझै केटाकेटीपारा हावी छ भन्ने झल्को दिल्लीमा पाइन्थ्यो । किनभने, आफूले जे चाहना राख्यो, त्यो भनेअनुसार पूरा हुन्छ नै भन्ने आत्मविश्वासले कतिपयमा घर गरेको छ । तर द्विपक्षीय वार्ता हुँदा सबैथोक आफूले भनेजस्ता हुँदैनन्, अरुले चाहेका कुरा पनि हुबहु लागू हुँदैनन् । कूटनीतिक संवाद गर्दै जाँदा चाहेको परिणाममा तलमाथि हुनसक्छ भन्ने कुरा नसोची अबचाहिँ ब्रेकथ्रु हुन्छ भनेर हौसिएका प्रधानमन्त्रीमा दिल्ली पुगेपछि केही निराशा पनि छायो । किनभने, उहाँले सबै कुरा बोलेजस्तै र अन्दाज गरेजस्तै हुन्छ भनेर जो सोच्नुभएको थियो ।

दिल्ली पुगेकै  दिन प्रधानमन्त्रीसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालको भेटवार्ता, त्यसमा छोरीको उपस्थिति, मुख्यसचिव र परराष्ट्र सचिव हराए भनी फिँजाइएको अफवाहले नै भन्छ, हामी कति ‘कच्चा’ छौं ! समाचारहरुमै आयो– ‘नेपालका मुख्यसचिव र परराष्ट्र सचिवलाई खोज्दा पनि भेटिएन । प्रधानमन्त्रीको सचिवालयले खोजेर ल्यायो र भेट गराइदियो ।’

खासमा प्रधानमन्त्रीको विदेश भ्रमण अरुका निम्ति घुमफिर, खानपान र रमाइलोको विषय बन्छ । तर, परराष्ट्रका कर्मचारीको हकमा त्यो काम यस्तो तनावयुक्त हुन्छ कि, भ्रमण सकिएर देश नफर्किंदासम्म राम्रोसँग खान, सुत्न र बोल्नसमेत पाउँदैनन् । त्यसदिन ६ बजेपछि अजित डोभालसँग भेट हुने कार्यक्रम त दिल्ली दूतावास र नेपालको परराष्ट्र च्यानलमार्फत पहिल्यै तय भइसकेको थियो । तर, डोभालसँगै विदेश सचिव विनयमोहन क्वात्रा पनि आउलान् भन्ने सूचना कोहीसँग थिएन । डोभालसँगको भेट सुरक्षा र कूटनीतिक संवदेनशीलताका कारण पनि ‘वन टु वन’ अर्थात्, एक्लाएक्लै गराइने सल्लाह थियो । अघिल्ला भ्रमणहरुमा पनि त्यस्ता भेटघाटको प्रचलन त्यही हो । त्यसैले डोभाल पुग्दा मुख्यसचिव शंकरदास बैरागी र परराष्ट्र सचिव भरत पौडेल वल्लो–पल्लो कोठातिरै गृहकार्यमा थिए । तर, वार्तास्थलमा प्रधानमन्त्री एक्लै हुनुपर्नेमा छोरी गंगा पनि छिरेको पाइयो ।

एकातिर डोभाल एक्लै आउलान् भनिएकोमा क्वात्रा पनि सँगै पुग्ने, अर्कातिर प्रधानमन्त्रीकी छोरी पनि देखापर्ने कुराले त्यहाँ केही गडबडीजस्तो भयो । यसपछि प्रधानमन्त्रीबाट मुख्यसचिव र परराष्ट्र सचिवको खोजी हुँदा उनीहरु त्यहीँ नै भेटिए । त्यो भेटमा क्वात्रा आउने कुरा प्रधानमन्त्रीलाई पनि थाहा थिएन । सोही भेटपछि कतिपय विषयमा प्रधानमन्त्रीले चाहेजस्तै परिणाम नआउने देखिएपछि उहाँको मुड बिग्रिसकेको थियो । अन्तर्वार्तामा उहाँले भन्नुभएको पनि छ, ‘तर, विस्तारै मिलाउँदै गएँ ।’

यसचोटिको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जसरी प्रस्तुत हुनुभयो, त्यसलाई प्रधानमन्त्री कार्यालयको टिमले ‘अभूतपूर्व’ मानेको छ । किनभने, भारतीय पक्षबाट पहिलोपटक सीमा व्यवस्थापन गर्ने प्रतिवद्धता खुला–खुलस्त ढंगले प्रकट भएको छ । यसअघिका कुनै पनि प्रधानमन्त्रीले यति स्पष्टसँग नेपाल–भारत सीमा व्यवस्थापनको कुरा गरेकै थिएनन् । मोदीले संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले बोल्नुअगावै भन्नुभयो, ‘हामी यही रफ्तारमा गयौं भने सीमालगायत सबै समस्या समाधान गर्न सक्छौं ।’ त्यसो त, सीमा व्यवस्थापनजस्तो जटिल विषय एकचोटिको संवादले छिनोफानो लाग्ने कुरै हैन । तर, नेपालको तर्फबाट यसचोटि उक्त विषय गम्भीर रुपमा उठेको छ ।  प्रधानमन्त्रीले नामै किटेर विशेषतः कालापानी, लिपुलेक र लिम्पियाधुराको प्रसंग उठाउनुभएको छ ।

नेपाली जनता यस मामिलामा संवेदनशील रहेको र समस्या थाति राखेर त दुई देशको सम्बन्ध कसरी सुमधुर हुन सक्ला र भन्ने उहाँको सोधाईले समकक्षीलाई झस्काएको निकट स्रोतले बतायो । १० वर्षको अवधीमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने कुरा पनि नेपालका निम्ति उपलब्धीका रुपमा रहेको मानिन्छ । त्यस बराबरको परियोजना भारतीय कम्पनीले नै बनाउने हो । अर्थात्, आफैंले उत्पादन गरेर लैजाने हो । त्यसमध्ये २१ प्रतिशत विद्युत खपत नेपालले निःशुल्क पाउँछ । उता, बंगलादेशलाई ५० मेगावाट विद्युत बेच्ने भनिएको छ । यसप्रकार, यसपटकको भारत भ्रमणमा प्रधानमन्त्रीले आफैं भिडेर काम गर्नुभएको छ । तर, एक्लाएक्लै भएको कुरा बाहिर छरपस्ट पार्न हुने थिएन भनी कूटनीतिज्ञहरुले आलोचना गरेका छन् । 
 

टिप्पणीहरू