हल्लाको देशमा दुःखका हिमाल

हल्लाको देशमा दुःखका हिमाल

नेपाललाई त्यसै ‘हल्लाको देशमा दुःखको भारी’ भनिएको हैन, हुन्छ पनि त्यस्तै ।‘प्रधानमन्त्रीको भ्रमणका दौरान भारतले आफूतिरको एयर रुट दिने पक्कापक्की गरिसक्यो, अब भैरहवा एयरपोर्टमा विदेशी विमान लखनउ–नौतुनवा हुँदै छिर्ने भए’ भन्ने समाचारको बाढी लाग्यो । खासमा त्यो हल्लामात्रै हो, वास्तविकता भने अर्कैै छ ।

दुईपक्षीय वार्तामा सहभागीस्रोतका अनुसार, भारतले नेपालगञ्ज नाका हुँदै नेपाल आउने विमानलाई भैरहवामा अवतरण गराउनका लागि लोअल्टिच्युडको अनुमति दिने भनेको छ । तर, नेपालका निम्ति भारतले दिने उक्त अनुमति जोखिमपूर्ण हुन्छ । नेपालले खोजेको महेन्द्रनगरबाट २६ देखि ३२ हजार फिटको उचाईमा भैरहवामा अवतरण गराउने सहमति हो । तर, भारत महेन्द्रनगर रुट र नेपालगञ्ज भएर १५ हजार फिटभन्दा माथि दिन अझै पनि तयार छैन । प्रधानमन्त्री प्रचण्डले समकक्षीसँग कुरा गर्दा मोदीले भन्नुभयो, ‘यसमा छलफल गर्दै जाऔं, अझ मिहिन ढंगले कुरा गरौं ।’ यसरी दुई दशकदेखि माग हुँदै आएको एयर रुटबारे यो भ्रमणमा पनि सबै कुरा टुंगो लागेन । 

भैरहवा विमानस्थलको जोखिम कस्तो छ भने, भारतले १५ हजार फिटको अल्टिच्युड दिएछ भने पनि जहाज अवतरण गर्नका लागि आठ डिग्रीले घुम्नुपर्छ । यस्तो हुनुको कारण हो, भारतीय सैन्य शिविर बाटोमा पर्नु र विमानस्थल छेउका जग्गाहरु मिलाउन नसक्नु । त्यसमाथि पशुपति मुरारकाहरुको सिमेण्ट कारखाना विमानस्थल छेउमै छ, जो मापदण्डविपरित बनाइएको हो । त्यसैले एयरपोर्ट बांगो भएका कारण मौसम खराब हुँदा त्यहाँ अवतरण हुन सक्ने जहाज दिल्ली जानुपर्ने हुन्छ । जबकि, भारतबाट आउँदा भैरहवातर्फ २५ हजार फिटको उचाईं हुनैपर्छ । भैरहवा पारी भारतीय सेनाको क्याम्प छ भनेर उडान अनुमति दिन आनाकानी हुँदै आएको छ । महेन्द्रनगरतिबाट छिर्दा अतिक्रमित कालापानीको भूभाग र चिनियाँ सरोकारको बहाना बनाएर त्यता पनि आनाकानी नै गरिएको छ । 

अर्कातिर नेपालमा उडान गर्नका लागि भारतीय जहाजको उडान संख्या (स्लट) बढाइदिने माग पनि चर्कै छ । नेपालमा त्यसै पनि भारतीय जहाज आवश्यकताअनुसार आएकै छन् । तर, जान्ने भएर भैरहवाका निम्ति भारतसँग बार्गेनिङ पावर बढाउन भन्दै नेवानिले भारततर्फ गर्दैै आएको उडान संख्यालाई २१ बाट झारेर १४ हुँदै अहिले ८ मा पुर्‍याइएको छ । यो कारण नेवानिको बजार तहसनहस भएको छ । अझै पनि त्यसमा सुधार आएको छैन । बजार त्यस्तो चिज हो, जो एकचोटि बिग्रिएपछि फेरि बनाउन निक्कै मुश्किल पर्छ ।


 

टिप्पणीहरू